अबैध कार्य गरिरहेको चौधरी ग्रुपलाई झड्का, चुनढुङ्गा उत्खनन कार्य रोकिएपछि स्थानीयको संघर्ष सफल

काठमाडौं । सत्ता र शक्तिको आडमा अवैध रूपमा चुनढुङ्गा खानी उत्खनन गर्दै आएको चौधरी ग्रुपलाई ठूलो झटका लागेको छ । रोल्पाको रुन्टिगढी–६ खारास्थित चुनढुङ्गा खानी स्थानीयवासीको तीव्र विरोधपछि बन्द गरिएको छ । मापदण्ड र कानुनी प्रक्रियालाई बेवास्ता गर्दै सञ्चालन गरिएको उत्खनन कार्य रोकिएपछि स्थानीयवासीले लामो संघर्षको पहिलो सफलता हात पारेका छन् ।
समूह अन्तर्गतको सम्राट सिमेन्ट प्रालिले वातावरणीय तथा कानुनी मापदण्ड पुरा नगरी ६ वर्षदेखि खानी उत्खनन गर्दै आएको थियो । नेपाली कांग्रेसका सांसद विनोद चौधरीको स्वामित्व रहेको कम्पनीले सरकारको संरक्षणमा अवैध उत्खनन गर्दै आएपछि स्थानीय समुदाय निरन्तर आन्दोलनरत थिए । तर, उनीहरूको मागलाई पटक–पटक बेवास्ता गरिएको थियो ।
स्थानीयवासीले खानी उत्खननका कारण वातावरणीय असर, जमिन धसिने समस्या र जलस्रोतमा प्रत्यक्ष प्रभाव परेको गुनासो गर्दै आएका थिए । अवैध रूपमा सञ्चालन गरिएको खानी तत्काल बन्द गर्नुपर्ने माग गर्दै स्थानीयले विभिन्न चरणमा आन्दोलन चर्काएका थिए । तर, सत्ता पक्षसँग निकटता राख्ने चौधरी ग्रुपले राजनीतिक पहुँचको दुरुपयोग गर्दै उत्खनन जारी राखेको स्थानीयको आरोप लगाएका थिए ।
चुनढुङ्गा खानी बन्द भएपछि स्थानीयवासीले राहतको महसुस गरेका छन् । तर, उनीहरूले खानी सम्बन्धी कानुनी प्रक्रिया पूरा नगरी पुनः उत्खनन सुरु गरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । चौधरी ग्रुपले लामो समयदेखि सत्ता र शक्तिको आडमा उद्योग सञ्चालन गर्दै आएको भन्दै स्थानीयले सरकारलाई पनि गम्भीर रूपमा लिन आग्रह गरेका छन् ।
रुण्टीगढी गाउँपालिका–६ मुरुले लेक ऐतिहासिक, धार्मिक, जैवीक तथा पर्यटकीय महत्वको क्षेत्र भएपनि शुभम् खनिज उद्योगले उक्त क्षेत्रमा चुनढुंगा उत्खननको अनुमति लिएको थियो । कम्पनीले मन्दिर नजिकैको तिम्ला गैराबाट उत्खननको अनुमति लिए पनि अनुमति क्षेत्रभन्दा बाहिर इस्लावाङबाट चुनढुंगा निकालेर सम्राट सिमेन्टलाई आपूर्ति गरिरहेपछि विरोध जनाउ गर्दै आन्दोलन गरिदै आइएको थियो ।
चौधरी ग्रुपले स्थानियहरुसँग गरेको सहमति समेत कार्यान्वयन गरेको थिएन । मुरुले क्षेत्रबाट चुनढुंगा उत्खनन हुन नदिने भन्दै ‘मुरुले लेक बचाउ संघर्ष समिति’ समेत गठन गरिएको थियो । स्थानीय र सम्राट सिमेन्ट तथा शुभम् खनिज उद्योगबीच २०७६ मा १४ बुँदे सहमति गरियो, जसअनुसार उद्योगले स्थानीय विद्यालय भवन निर्माण, शिक्षकको तलब, सामुदायिक वन संरक्षण, एम्बुलेन्स सेवा, सडक निर्माण लगायतका प्रतिबद्धता थिए । तर, उद्योगले सम्झौता कार्यान्वयन गरेन ।
उत्खखन गर्ने क्षेत्रमा उत्खनन नगरी अन्यत्रैबाट उत्खनन गरेको प्रमाण र गुनासोसहित काम बन्द गर्न, गराउन खानी तथा भूगर्भ विभागमा पत्र पठाएपछि चैत्र ७ गतेदेखि काम रोकिएको छ ।
विदेशी लगानीकर्ता भित्र्याउने भनेर केहि महिना अघिमात्र लगानी बोर्डमा आफ्नो योजना पेश गरेको चौधरीको कम्पनी सम्राट सिमेन्ट सञ्चालन गरेको अवैध चुनढुङ्गा उत्खनन बन्द गराएका हुन् । उक्त कार्य रोकिएपछि ६ वर्षसम्म गरेको अबैध कार्यको लागि कारबाही हुनु पर्ने माग स्थानिय छ । तर, राजनीति आडमा चौधरी ग्रुपले सफाइ पाउने पक्का छ ।
यसअघि खानी तथा भूगर्भ विभागले अनुमति उल्लंघन गरेको भन्दै शुभम् खनिज उद्योगलाई डेढ करोड बढी जरिवाना गरेको उदारण छ ।