बजारमा करेक्सनः नेप्सेका सीइओलाई रातो कार्पेटद्वारा स्वागत, कस्तो होला आगामी यात्रा ?

काठमाडौं । लगातार तीन दिनसम्म सुधार देखिएको सेयर बजारमा सोमबार सामान्य करेक्सन देखिएको छ। नेप्से परिसूचक दोहोरो अंकले घटे पनि लगानीकर्ताले यसलाई स्वाभाविक लिएका छन्। बजारमा केही दिनदेखि निरन्तर वृद्धि भएपछि नाफा बुक गर्ने लगानीकर्ताहरू हावी हुँदा सूचकमा सामान्य गिरावट आएको हो।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईँलाई राताम्यले स्वागत गरेका छन्। उनले नियुक्ति पत्र लिएकै दिन बजार घट्न पुगेको भए पनि समग्र आर्थिक परिप्रेक्ष्यमा बजारको प्रवृत्ति सकारात्मक रहेको विश्लेषकहरू बताउँछन्।
सेयर बजारको मुख्य निर्धारणकर्ता बैंक ब्याजदर रहेको छ, जुन हाल निकै तल्लो विन्दुमा पुगेको छ। बैंकिङ प्रणालीमा तरलता अधिक रहेकाले सेयर बजारमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ। सुधारको क्रममा देखिएका साना करेक्सनलाई स्वाभाविक मान्दै बजार अझै माथि जाने सम्भावना रहेको बताइन्छ।
चक्रीय विश्लेषण अनुसार, बजारले लामो समयको बियरिस चरण पार गरिसकेको छ। सेयर बजार सधैं घट्ने मात्रै होइन, घटेपछि पुनः वृद्धि हुने चक्रमा अघि बढ्ने भएकाले लगानीकर्ताले यसलाई दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ। हाल देखिएको करेक्सनलाई सामान्य भई सुधारको संकेतका रूपमा लिनुपर्ने विज्ञहरूको सुझाव छ।
हाल अन्य लगानीका क्षेत्र संकुचित रहेका कारण सेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढेको छ। विभिन्न क्षेत्रहरूमा कर्जा प्रवाह विस्तारै बढे पनि गति सुस्त देखिन्छ, तर सेयर कर्जाको माग भने उच्च छ। विशेषगरी ठूला लगानीकर्ताहरू सेयर धितो कर्जा लिएर बजार प्रवेश गरिरहेको तथ्यांकले देखाएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५७ अकंले २६७७.५५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ६ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १२ उपसूचक राताम्य भएका छन् भने व्यापार समूह मात्रै बढेको छ । मंगलबार २०१ कम्पनीको मूल्य घट्दा ४२ कम्पनीको बढेको छ ।