२३ वर्षको जिम्मेवार बैंकिङ यात्राः लक्ष्मी सनराइज बैंकको सफलता र विस्तार

१९ चैत्र २०८१, मंगलवार १३:०२

काठमाडौँ ।  नेपालको वित्तीय क्षेत्रमा सुदृढ उपस्थिति कायम गर्दै लक्ष्मी सनराइज बैंकले २३ वर्ष पूरा गरेको छ। सन् २००२ मा वीरगन्जबाट क्षेत्रीय बैंकको रूपमा कारोबार सुरु गरेको बैंक २००५ मा राष्ट्रियस्तरको बैंकको रूपमा स्तरोन्नति भएको थियो । सन् २००४ मा लक्ष्मी बैंकले देशकै पहिलो कर्पोरेट मर्जरका रूपमा हाइसेफ फाइनान्सलाई गाभेको थियो । मर्जरकै क्रममा बैंकले जनवरी २०१७ मा प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति गरेको थियो । नेपाल राष्ट्र बैंकको विग मर्जरलाई आत्मसाथ गर्दै गएको असार २९ गते साविक लक्ष्मी बैंक र सन राइज बैंक एक आपसमा मर्जर भइ लक्ष्मी सनराइज बैंकको रुपमा एकिकृत कारोबार गर्दै आइरहेका छन् । एक बराबर एकको अनुपातमा मर्जर सँगै बैंकका हरेक सूचक टप टेन बैंक भित्र पर्न सफल भएको छ ।

आफ्नो स्थापनाकालदेखि नै बैंकले ग्राहकहरूको वित्तीय आवश्यकताहरूलाई सम्बोधन गर्दै नवाचार र प्रविधिमा आधारित सेवाहरू प्रदान गर्दै आएको छ। अहिले बैंक ५९ जिल्लामा २५४ शाखा, २७ विस्तार काउन्टर, ३२८ एटिएम, १४० शाखारहित बैंकिङ एजेन्टहरू र २० अन्तर्राष्ट्रिय रेमिटेन्स साझेदारहरूसँग सञ्चालनमा छ।

बैंकको यस यात्रामा ग्राहकहरूको विश्वास महत्वपूर्ण रहेको छ। २३ लाखभन्दा बढी ग्राहकको साथ पाएको बैंकको प्रमुख सम्पत्ति मानव स्रोत पनि बलियो रहेको छ, जहाँ २,७०० भन्दा बढी कर्मचारीहरू आफ्नो सेवामा समर्पित छन्। बैंकले हालसम्म ३४८ अर्ब रुपैयाँ भन्दा बढी ग्राहक निक्षेप संकलन गरेको छ भने यसको कुल सम्पत्ति ४१० अर्ब रुपैयाँ नाघेको छ।

डिजिटल बैंकिङमा अगाडि

प्रविधिको युगसँगै बैंकले डिजिटल बैंकिङ सेवाहरूलाई प्राथमिकता दिँदै मोबाइल बैंकिङलाई थप परिष्कृत बनाउँदै लगेको छ। ‘मोबाइल मनि’ अनुप्रयोगमार्फत ग्राहकहरूले इन्टरनेट प्रयोग गरी आफ्ना खातासम्बन्धी जानकारी लिन, रकम स्थानान्तरण गर्न, मुद्रित निक्षेप खोल्न, कार्ड असक्षम गर्न, बिल भुक्तानी गर्न, रिचार्ज गर्न, व्यवसायी भुक्तानी गर्न, तथा कार्डविना नै एटिएमबाट रकम झिक्न सक्ने सुविधाहरू उपलब्ध छन्।

यसका साथै, ‘स्मार्ट कर्जा’ तथा ‘अहिले किनौं, पछि तिरौं’ (बीएनपीएल) सुविधा समेत बैंकले मोबाइल अनुप्रयोगबाटै प्रदान गर्दै आएको छ। विद्युतीय कारोबारलाई थप प्रवर्द्धन गर्न बैंकले ७०,००० भन्दा बढी व्यवसायीलाई क्यूआर व्यवसायीको रूपमा दर्ता गराएको छ। मोबाइल मनि अनुप्रयोग फोनपे, नेपालपे, र स्मार्ट क्यूआर जस्ता प्रमुख क्यूआर प्रणालीहरूसँग आबद्ध छ। बैंकले भारतको युपिआई तथा नेपालको पानपे मार्फत अन्तरदेशीय भुक्तानी कारोबारको लागि ‘समायोजन बैंक’ को रूपमा समेत सम्झौता गरिसकेको छ।

वित्तीय पहुँच र विपन्न वर्गलाई सहयोग

नेपाल राष्ट्र बैंकको वित्तीय पहुँच विस्तार गर्ने नीतिलाई आत्मसात गर्दै लक्ष्मी सनराइज बैंकले वित्तीय समावेशीकरणमा विशेष ध्यान दिएको छ। बैंकले लक्ष्मी कृषि कर्जा, उखु कर्जा, न्यून लागत आवास कर्जा, तथा लक्ष्मी लघुकर्जा जस्ता योजनाहरू ल्याएर विपन्न वर्गलाई सहज कर्जा उपलब्ध गराउँदै आएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुल कर्जाको न्यूनतम ५० प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने प्रावधानअनुसार बैंकले २०८० असोज मसान्तसम्म ६.८८ प्रतिशत कर्जा प्रदान गरिसकेको छ।

सहुलियत कर्जामार्फत उद्यमशीलता प्रवर्द्धन

नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि ल्याएको ‘एकीकृत कार्यविधि, २०७५’ अन्तर्गत बैंकले कृषिमा आधारित व्यवसाय, पशुपालन, उद्यमशीलता तथा स्वरोजगार प्रवर्द्धनका लागि विभिन्न कर्जा योजनाहरू सञ्चालन गरिरहेको छ। बैंकले शिक्षित बेरोजगार युवाका लागि ‘युवा स्वरोजगार कर्जा’, विदेशबाट फर्किएकाहरूका लागि ‘युवा उद्यमी कर्जा’, महिलाहरूका लागि ‘महिला उद्यमी कर्जा’, दलित तथा पछाडि परेका समुदायका लागि ‘उद्यम विकास कर्जा’, आर्थिक रूपमा कमजोर तथा सीमान्तकृत वर्गका विद्यार्थीहरूका लागि ‘शैक्षिक कर्जा’ जस्ता योजनाहरूमार्फत वित्तीय पहुँच अभिवृद्धि गरेको छ।

भूकम्प प्रभावितहरूका लागि निजी आवास निर्माण कर्जा उपलब्ध गराउँदै बैंकले आर्थिक स्थायित्वमा टेवा पुर्‍याइरहेको छ। हालसम्म २०,००० भन्दा बढी ग्राहकले सहुलियत दरमा २० अर्ब रुपैयाँभन्दा बढी कर्जा सुविधा प्राप्त गरिसकेका छन्।

निरन्तर जिम्मेवार बैंकिङको यात्रा

लक्ष्मी सनराइज बैंकको २३ वर्षे यात्राले केवल बैंकको विस्तारलाई मात्र होइन, ग्राहकहरूको वित्तीय सशक्तीकरणलाई प्राथमिकतामा राखेको देखाउँछ। नवीनतम प्रविधि, वित्तीय पहुँच र सेवा विस्तारको बलमा बैंकले नेपालका विभिन्न समुदायहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याएको छ।

सुनौलो भविष्यको यात्रामा बैंकले ग्राहकहरूको विश्वासलाई आधार मानेर जिम्मेवार बैंकिङमार्फत दिगो वित्तीय वृद्धि गर्ने लक्ष्य लिएको छ। वित्तीय समावेशीकरण, डिजिटल बैंकिङ र सामाजिक उत्तरदायित्वका कार्यहरूलाई सुदृढ गर्दै बैंकले निकट भविष्यमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*