बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्षमा नियुक्त भएका शरद ओझाको योग्यता र उमेर सम्बन्धमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतमा ०८१ डब्लुओ १०६६ नम्वरमा बीमा प्राधिकरणका अध्यक्षको योग्यता नपुगेको भन्दै रिट दर्ता भएको हो ।
अधिवक्ता इन्दिरा धमलाले सार्वजनिक सरोकारको विषय अन्तर्गत दर्ता गरिएको रिटमा पत्रकारिता पेशामा लामो समयदेखि आबद्ध हुँदै आएका शरद ओझाले नेपाल सरकार मन्त्रिपरिषदमा झुठो विवरण पेश गरी अध्यक्ष नियुक्ती भई गैर कानुनी रुपमा कार्य गरेको भन्दै उक्त नियुक्त बदर गर्न माग गर्दै रिट दर्ता गरिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले २०८१ फागुन १२ गते नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल बीमा प्राधिकरण अध्यक्ष छनौट समितिले सिफारिस गरेका रामशरण पुडासैनी, दामोदर बसौला र शरद ओझा मध्ये मन्त्रिपरिषदको बैठकले ३३ बर्षिय शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
रिटमा २०७२ सालदेखि पत्रकारिता पेशामा संलग्न रही काम गर्दै आएका शरद ओझासँग पाँच बर्ष बीमा क्षेत्रमा काम गरेको अनुभव नहुँदा नहुँदै नियुक्ती दिइएको, अध्यक्ष शरद ओझाले झुठो विवरण पेश गरी झुक्याएर नियुक्ती लिएकोले उक्त नियुक्त बदर गर्न माग गरिएको छ ।
स्मरणरहोस्, बीमापोष्टले ओझालाई बीमा प्राधिकरणमा नियुक्त गर्ने सम्बन्धमा मन्त्रिपरिषदबाट निर्णय भएकै दिन ओझाको अनुभव सम्बन्धी योग्यता नपुगेको र नियुक्ती गैर कानुनी रहेको भन्दै समाचार प्रकाशित गरेको थियो ।
उक्त रिटमाथि आज प्रारम्भिक सुनुवाई भएको छ । आजै आदेश आउनेछ ।