आरआर क्याम्पसमा अविलम्ब स्ववियु निर्वाचन गर्न नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस इकाइले क्याम्पस प्रशासनलाई स्ववियु निर्वाचन तत्काल गराउन आग्रह गरेको छ। नेविसंघका अध्यक्ष पदका उम्मेदवार विनोद राज जोशीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमार्फत निर्वाचनको अनिश्चितताले विद्यार्थीहरु निराश बनेको भन्दै तत्काल सर्वदलीय बैठक राखी निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न माग गरिएको हो ।
स्ववियु निर्वाचन चैत ५ गते तय भए पनि चैत १६ मा सारिएको थियो। तर, सो मितिमा पनि निर्वाचन हुन नसक्दा अब कहिले हुने भन्ने अन्योल कायमै रहेको छ। विद्यार्थी संघले स्ववियु निर्वाचन हारजितको खेल मात्र नभएर विद्यार्थी हकहित र क्याम्पस रुपान्तरणको माध्यम भएको उल्लेख गर्दै प्रशासनको निष्क्रियताले गम्भीर प्रश्न खडा भएको जनाएको छ।
ज्ञापनपत्रमा विद्यार्थीहरूले तिरेको शुल्कबाट संचित स्ववियु कोष लामो समयदेखि उपयोग नभएको र बारम्बार निर्वाचन स्थगित हुँदा कक्षा नियमित सञ्चालनमा असर परेको भन्दै विद्यार्थी समुदाय निराश भएको उल्लेख गरिएको छ।
विद्यार्थी संघले निर्वाचनको अवरोध फुकुवा गर्न तत्काल सर्वदलीय बैठक बोलाउन र निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न क्याम्पस प्रशासनलाई आग्रह गरेको छ।