ब्रोकर मर्जर प्रक्रियालाई व्यवस्थित बनाउन बोर्डको नयाँ निर्देशिका लागू, के-के छन् प्रावधान ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूको गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियालाई स्पष्ट र पारदर्शी बनाउन ‘धितोपत्र व्यवसायी गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ। धितोपत्र ऐन, २०६३ को दफा ११८ अन्तर्गत जारी गरिएको यो निर्देशिकाले ब्रोकर मर्जरलाई कानुनी आधार प्रदान गर्दै व्यवस्थित बनाउने उद्देश्य राखेको छ।
बोर्डले मर्जर प्रक्रियालाई तीव्र र प्रभावकारी बनाउन इच्छुक ब्रोकर कम्पनीहरूलाई आवश्यक कागजात पेस गरेपछि १५ कार्यदिनभित्र सैद्धान्तिक स्वीकृति दिने व्यवस्था गरेको छ। यदि कुनै कारणवश सहमति नदिने निर्णय भएमा, सोको जानकारी कारणसहित ७ कार्यदिनभित्र सम्बन्धित पक्षलाई दिनुपर्ने प्रावधान राखिएको छ।
सैद्धान्तिक सहमति प्राप्त गरेपछि कम्पनीहरूले स्वतन्त्र मूल्यांकनकर्तामार्फत सम्पत्ति, दायित्व तथा व्यावसायिक कारोबारको मूल्यांकन गराउनु पर्नेछ। मूल्यांकन प्रक्रियामा समायोजित खुद सम्पत्ति, नगद प्रवाहको वर्तमान मूल्य तथा अन्य अन्तर्राष्ट्रिय विधिहरू अपनाइनेछ।
मर्जरपछि कम्पनीको नाम, ठेगाना, पूँजी संरचना, सम्पत्ति, दायित्व तथा शेयर स्वाप अनुपात निश्चित गरिनेछ। अन्तिम सम्झौता भइसकेपछि १५ कार्यदिनभित्र बोर्डमा अन्तिम स्वीकृतिका लागि निवेदन दिनुपर्नेछ।
मर्जर सम्पन्न भएपछि एकीकृत कारोबार गर्न बोर्डको स्वीकृति अनिवार्य हुनेछ। साथै, धितोपत्र कारोबार, टीएमएस प्रणाली तथा हितग्राही खाता व्यवस्थापनसम्बन्धी प्रावधानहरू लागू हुने व्यवस्था गरिएको छ। यस नयाँ निर्देशिकासँगै ब्रोकर कम्पनीहरूको मर्जर प्रक्रिया थप सहज, व्यवस्थित र पारदर्शी बन्ने अपेक्षा गरिएको छ।