पुँजी बजारमा रौनक: कारोबारमा समेत उछाल, मार्केट लयमा फर्किएको हो ?

काठमाडौँ । नेप्से लगातार तेस्रो दिन हरियाली देखिँदा लगानीकर्ताहरूको आत्मविश्वास बढेको छ। लगातार गिरावटपछि बजारले पुनः स्थिरता लिने संकेत दिएको छ, जसले लगानीकर्ताहरूलाई नयाँ उत्साह प्रदान गरेको छ । विशेष गरी, बलियो वित्तीय आधार भएका कम्पनीहरूको मूल्य आकर्षक बिन्दुमा झरेका कारण सूचित लगानीकर्ताहरूले अवसर खोजिरहेका छन् । बजारमा यस्ता कम्पनीहरूमा लगानी गर्दा भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने विश्वास गरिएको छ ।
साथै, स्थिर कम्पनीहरूले बोनस तथा नगद लाभांश प्रदान गर्ने भएकाले जोखिम न्यूनीकरणमा पनि सहयोग पुग्नेछ । बजार सुधारको संकेत देखिए पनि अझै स्थायित्व कायम हुन समय लाग्ने विश्लेषकहरू बताउँछन्। हाल बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र कर्जा लिन सहज भएकोले सेयर बजारलाई सकारात्मक संकेत मिलेको छ। ब्याजदरको क्रमिक गिरावटले लगानीकर्ताहरूलाई थप सहज बनाइरहेको छ, जसले बजारमा माग बढाउने अपेक्षा गरिएको छ। तर, दैनिक कारोबार रकम औसत स्तरमै रहेकाले आगामी केही दिनको गति बजारको स्पष्ट दिशा निर्धारण गर्नेछ ।
यसबीच, अल्पकालीन उतार–चढ़ावलाई बेवास्ता गर्दै दीर्घकालीन सोच राखेर लगानी गर्नेहरूका लागि यो समय उपयुक्त मानिन्छ । आर्थिक स्थिरता, बैंक ब्याजदर तथा नियामक निकायको नीति मुख्य निर्धारक हुने भएकाले विवेकपूर्ण लगानी आवश्यक देखिन्छ । बजारमा सुधारको संकेत देखिए पनि सधैं उतार–चढ़ाव भइरहने भएकाले बलियो वित्तीय सूचक भएका कम्पनीहरूमा लगानी गर्दा सुरक्षित रहन सकिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अकंले बढेर २९९५.५५ बिन्दुमा बन्द भएकोछ । आज ३२३ कम्पनीको १ करोड ५५ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १२ वटा उपसूचक हरियाली भएका छन् । आज बैंकिङ समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको ०.९३ प्रतिशत, फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आइतबार २२ कम्पनीको शेयर मूल्य घटेको छ भने २२२ कम्पनीको बढेको छ ।