पाथीभरामा केवलकार बनाउने सम्पूर्ण कार्य रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा निर्माण भइरहेको केवलकारसहित सो सम्बन्धी अन्य सबै गतिविधि तत्काल रोक्न आदेश दिएको छ।
याम बहादुर लिम्बु लगायतका व्यक्तिहरूले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले निर्णय नहुँदासम्म निर्माणसम्बन्धी कुनै पनि काम अघि नबढाउन सरकार र निर्माण कम्पनीलाई अन्तरिम आदेश जारी गरेको हो।
न्यायाधीश शारंगा सुवेदीको इजलासले यसबारे थप छलफल गर्न चैत २६ गते दुवै पक्षलाई बोलाएको छ। सर्वोच्चले उठाइएका मुद्दाको गम्भीरता हेरी दुवै पक्षको भनाइ सुनेपछि मात्र अन्तिम निर्णय लिने जनाएको छ।
निवेदकहरूले पाथीभरामा केवलकार निर्माण रोक्नुपर्ने भन्दै अदालतमा रिट दिएका थिए। उनीहरूले निर्माणसम्बन्धी निर्णय र त्यससँग जोडिएका सबै प्रक्रिया बदर गर्न माग गरेका छन्।