एनआईसी एशिया बैंकको ऋणपत्र चैत २५ गतेदेखि

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आउदो चैत २५ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ निष्कासन गर्ने भएको छ।
बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले जम्मा ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। सोमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ।
यस ऋणपत्रमा लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा २५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा चैत २८ गते र ढिलोमा वैशाख ८ गते हुनेछ।
बैंकको ऋणपत्रलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस रेटिङ्ग दिएको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम सुरक्षित रहेको संकेत गर्छ।
यस ऋणपत्रमा आर्जित ब्याजर रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक सकिएपछि कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।