पत्रकार रजकको योजनाबद्ध हत्या गरिएको पत्रकार महासंघको ठहर

काठमाडौं । चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा निधन भएका एभिन्यूजका पत्रकार सुरेश रजकको योजनाबद्ध हत्या गरिएको नेपाल पत्रकार महासंघले ठहर गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
शुक्रबारको घटनापछि शनिबार बसेको महासंघको केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकार रजकको आन्दोलनको क्रममा योजनाबद्ध तरिकाले हत्या गरिएको ठहर गर्दै प्रेस स्वतन्त्रताको पक्षमा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकार रजकको हत्या तथा सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रमको घोषणा गरिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको छ ।’
बैठकले शनिबार क्षति पुर्याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
पत्रकार महासंघले शुक्रबार निधन भएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न महासंघका उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली संलग्न रहेको समिति गठन गरिएको छ ।