भर नै नभएको भविष्यलाई सुनिश्चित गर्न जीवन बीमा अपरिहार्य छः टिका बहादुर ढकाल

नेपाली बीमा क्षेत्रमा चिरपरिचित नाम हो, टिका बहादुर ढकाल । सिन्धुपाल्चोक जिल्लामा जन्मिएका ढकाल हाल सिटिजन लाइफ इन्स्योरेन्सको भैंसीपाटी शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ ।
लामो समयदेखि काठमाडौंमा आफ्नै काठ व्यवसाय सञ्चालन गर्दै आएका ढकाल विगत चार वर्षदेखि नागरिकहरुको बीमा गरि जोखिम हस्तान्तरण गर्दै आएका छन् । नेपाली युवा–युवतीलाई आफ्नो व्यवसाय गरेर पनि यो बीमा क्षेत्रको प्लेटफर्मको प्रयोग गरि आफूलाई आर्थिक र सामाजिक रुपमा सक्षम बनाउँदै अगाडि बढेका छन् ।
जीवन बीमा पेशालाई आफ्नो जीवनकै अभिन्न अंग बनाउने दृढ निश्चय गरि बीमा पेशामा होमिएका ढकालले भविष्यमा नेपाली जीवन बीमा क्षेत्रको उज्वल भविष्य कोर्ने प्रतिवद्ध भएर काम गरिरहेका छन् ।
प्रस्तुत छ, उनै सिटिजन लाइफ इन्स्योरेन्स् कम्पनीका एजेन्सी एजेन्सी म्यानेजर टीका बहादुर ढकालसँग बीमापोष्टका लागि राजन कठायतले गरेको कुराकानीको प्रस्तुत अंशः
बीमा क्षेत्रमा आवद्ध हुनुभएको कति भयो ?
–म बीमा क्षेत्रमा प्रवेश गरेको चार वर्ष भयो । हाल म सिटिजन लाइफ इन्स्योरेन्सको भैसीपाटी शाखा कार्यालयमा एजेन्सी म्यानेजरको रुपमा आवद्ध छु ।
अभिकर्ता पेशामा कसरी जोडिनु भयो ? यसको भविष्य कस्तो देख्नुभएको छ ?
–म चाँही एकदिन विरामी भेट्न हस्पिटल जाँदै थिएँ । त्यतिखेरै मेरो सडक दुर्घटना भयो । त्यसपछि मेरो हात– खुट्टा भाँचियो र हस्पिटलाइज हुन पुगे । त्यो हस्पिटल बस्ने बलामा मैले बीमाको महत्व बुझे अनि त्यस पछि म बीमामा आवद्ध भएको हुँ । मैले घटना हुदाँ पनि कुनै पनि बीमा गरेकै थिएन् ।
मैले कोरिया जान एकैवर्षमा कोरिया भाषामा इपीएस समेत उत्तीर्ण गरेको थिए । पछि दुर्घटना भएपछि मैले कोरिया जस्तो चिसो ठाँउमा काम गर्न नसक्ने भएपछि मेरो विदेशको यात्रा टुङ्गियो । पछि मैले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोँच बनाएर काठ व्यवसायका साथै बीमा व्यवसायमा आवद्ध भएर अघि बढेको छु ।
तपाईले बीमा अभिकर्ता र काठ व्यवसायमा मात्र लाग्नु भएको छ की, यो बाहेक अन्य कुनै पेशा/व्यवसाय पनि गर्दै हुनुहुन्छ ?
–बीमा व्यवसायका साथै आफ्नै काठ व्यवसाय छ । मैले २०–२२ जनालाई रोजगारी दिएको छु । हामी दाजु–भाई मिलेर काठको सम्पूर्ण काम गरिरहेका छौं । मलाई काठको व्यवसाय र बीमा व्यवसाय दुबैमा सहज–असहजता छ । दुबै काममा थुप्रै चुनौतीहरु रहेका छन् । ती चुनौंतीको सामना गरेर नै व्यवसायलाई सफलताका साथ अगाडि बढाएको अवस्था छ ।
बीमा अभिकर्ता पेशालाई कसरी परिभाषित गर्नुहुन्छ ?
–बीमा अभिकर्ता पेशा भनेको एउटा समाज सेवा हो । भवितव्य पर्दा खेरी बीमा भगवान् हुन्छ । बीमा अभिकर्ता बनेर व्यवसाय गरिरहेको मानिसले आर्थिक प्रलोभन भन्दा पनि मानिसहरुको घर परिवारको जोखिम रक्षावरणलाई प्राथमिकता दिनुपर्छ । बीमा व्यवसायभित्र थुप्रै विकृति, बिसंगती पनि छन् । कतिपय मानिसले ब्ल्याक मनिलाई ह्वाइट मनि बनाउन पनि बीमा गरिरहेको देखिन्छ ।
मलाई चाँही के लाग्छ भने, हामीले बीमा गर्ने भनेको हाम्रै रिलेटिभहरुको, आफ्नै आफन्त, मामाघरतिर, माइततिर तथा आफ्नै नजिकका मानिसहरुको हो । त्यसैले गलत डकुमेन्ट हालेर गर्नु भएन । आफुलाई केही फाइदा हुन्छ, त्यसको लागि बीमा गराउनुपर्छ भन्दा पनि मैले कसैको घरपरिवारको भोलि आउने जोखिमको रक्षावरण गरिदिन बीमा गर्नुपर्छ भन्ने हिसावले बीमा गर्नुपर्छ जस्तो मलाई लाग्छ ।
नागरिकहरुलाई बीमाबारेमा जानकारी दिदाँ आम नागरिकहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
–बीमाको विषयमा मैले दुई वटा कुरा पाएको छु । पोजिटिभ पनि नेगेटिभ पनि । कतिपय मानिसले बीमाको बारेमा बुझेको हुँदैन । केही कमिशन आउने रहेछ त्यसैले यसले हामीलाई बीमा गराउनको लागि प्रस्ताव गरिरहेको छ भन्ने कुरा सुनिरहेका हुन्छ । वास्ताविकता त्यस्तो होइन ।
मानिसहरुमा बीमाको बारेमा सकारात्मक धारणा पनि छ । मेरो फेसबुकमा जोडिएका एकजना सरले मलाई आफै बोलाएरै बीमाको बारेमा बुझेर बीमा गरेका छन् । पछि उहाँले अन्य आफ्ना साथी सर्कल तथा आफन्तको पनि मबाट बीमा गराउन लगाएका थिए । उहाँले मलाई थुप्रै पोलिसीहरु पनि खोजिदिएको छ ।
नेपालमा थुप्रै बीमा कम्पनीहरु छन्, तर तपाइले सिटिजन लाइफ नै रोज्नुको कारण ?
–सिटिजन लाइफ इन्स्योरेन्समा सबैजना अनुभवी छन् । म्यानेजमेन्ट टीमदेखि एजेन्सीहरु एकदमै क्षमतावान् छन् । साथै, हाम्रो कम्पनीको व्यवसायिक ग्रोथ देखेर पनि सिटिजन लाइफमा आवद्ध भएको हुँ । सिटिजन लाइफका कर्मचारी तथा सबै एजेन्सीहरुको टीमवर्क राम्रो छ ।
बीमितहरुले सिटिजन लाइफका कस्ता बीमा पोलिसीहरु बढी रुचाउने गरेका छन् ?
–सिटिजन लाइफ इन्स्योरेन्सका सबै पोलिसीमध्ये अग्रिम भुक्तानि प्लान सबैभन्दा बढी बिक्री भईरहेको छ । शुरुका केही वर्ष प्रिमियम तिरेपछि विस्तारै त्यही सीमित प्रतिशत रिटर्न आउँछ र सोही रकमले पछि बाँकी रहेको प्रिमियर तिर्दै जान सकिन्छ । त्यस कारण मैले अरु पोलिसी भन्दा पनि अग्रिम पोलिसी बढी प्रस्ताव गर्ने गरेको छु ।
सिटिजन लाइफमा बीमा अभिकर्ता भएर काम गर्दा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
–म सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर काम गरिरहँदा एकदमै सन्तुष्ट बनेको छु । मैले सिटिजन लाइफ इन्स्योरेन्सलाई पूरा समय दिन सकिरहेको छैन् । मेरो आफ्नै व्यवसायले मलाई समय मिलाउन असहज परिस्थिति बनेको छ । तर, जति समय दिएको छु मैले नेपालका अधिकृतस्तरमा कमाइरहेको छु । यसै कम्पनीमा आवद्ध भएर व्यवसाय गरिरहँदा विदेश भ्रमण गर्ने अवसर समेत पाएको छु ।
आम मानिसहरुले किन बीमा गर्ने, यसले मानिसको जीवनमा कसरी परिवर्तन ल्याउँछ ?
–मानिसको जीवन हो, भोलिको दिनमा जतिबेला पनि जे पनि हुनसक्छ । हाम्रो जिन्दगीमा कहाँनिर गएर पूर्णविराम लाग्न सक्छ र जिन्दगी चल्दै गर्ने क्रममा कतिबेला प्राणघातक रोगले समाउँछ ।
मानिसको दुःखको साथी भनेकै बीमा हो । मानिसलाई गरीबीको दलदलमा नपुर्याउन्, आर्थिक समस्या टार्न, अध्ययन तथा विभिन्न अप्ठ्याराको बेलामा काम लाग्ने साधान बीमा हो । त्यसैले समयमै बीमा गर्न आवश्यक छ ।
बीमा अभिकर्ता पेशालाई थप मर्यादित बनाउन कम्पनी र बीमा प्राधिकरणले के गर्नुपर्छ जस्तो लाग्छ ?
–बीमा प्राधिकरणले बीमा अभिकर्ता पेशालाई थप मर्यादित बनाउँन अधिकांश कुरामा सुधार गरेको अवस्था छ । पहिला अभिकर्ता लाइसेन्स प्राप्त गर्न डकुमेन्ट मात्र बुझाएपछि घरमै आउने वातावरण थियो । अहिले त परीक्षा लिने, तालिम दिने तथा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने अवस्था बनाएको छ । यसले गर्दा अभिकर्ता पेशा थप मर्यादित बन्ने विश्वास रहेको छ ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
–मलाई र मेरो सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई विश्वास गरेर बीमा गरिदिनु हुने सम्पूर्ण बीमित, यो यात्रामा सहयोग गरिदिने एजेन्सी, ब्रान्च म्यानेजर तथा मेरो घर परिवारलाई धन्यवाद दिन चाँहान्छु ।