तीनकुने घटनाकाे जिम्मेवार राज्यसत्ता नै हाेः संयुक्त जनआन्दाेलन परिचालन समिति

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै भइरहेको जनआन्दोलनको क्रममा सरकारले षड्यन्त्रपूर्वक दमन गरेको भन्दै संयुक्त जनआन्दाेलन परिचालन समितिले विज्ञप्ति जारी गरेको छ।
समितिले सरकारको दमनकारी नीति र शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन गरिएको घुसपैठको निन्दा गर्दै आन्दोलन झनै सशक्त हुने चेतावनी दिएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार बालाजु, कलंकी, बूढानीलकण्ठ, चाबहिल लगायतका स्थानबाट रिंगरोडभित्र प्रवेश नै गर्न नदिई प्रदर्शनकारीलाई नियन्त्रण गर्ने प्रयास भएको थियो। कोटेश्वर क्षेत्रमा समेत प्रदर्शनकारीलाई रोक्ने नाममा सुरक्षा संयन्त्रलाई प्रयोग गरिएको समितिको आरोप छ।
समितिले सरकारलाई घुसपैठियाहरूको प्रयोग गरेर आन्दोलनलाई हिंसात्मक बनाउने प्रयास गरेको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी सत्तापक्षले लिनुपर्ने बताएको छ। विज्ञप्तिमा सरकारले तोकेको क्षेत्रभित्र मात्र आन्दोलन सीमित नरहने चेतावनी दिँदै आगामी दिनमा आन्दोलन देशव्यापी हुने संकेत गरिएको छ।
यस्तै, प्रदर्शनका क्रममा घाइते भएका आन्दोलनकारी र सुरक्षाकर्मीको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ। साथै, तोडफोड र आगजनीका कारण प्रभावित व्यवसायीहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारले पहल गर्नुपर्ने बताइएको छ।
विज्ञप्तिमा देश संक्रमणकालमा प्रवेश गरेको उल्लेख गर्दै गणतन्त्र कागजमै सीमित भएको दाबी गरिएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै समाधान खोज्न सर्वपक्षीय वार्ता र संवाद आवश्यक रहेको समितिले जनाएको छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरूलाई वर्तमान अवस्थाको गम्भीर अनुगमन गर्न आग्रह गरिएको छ।