समाजवादी मोर्चाको नारा: ‘कुलमान जिन्दावाद’

१५ चैत्र २०८१, शुक्रबार १३:५८

काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनीमार्गमा गरेको विरोध सभामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा नाराबाजी गरिएको छ। प्रदर्शनमा सहभागीहरूले ‘कुलमान जिन्दावाद’ भन्दै सरकारको निर्णयको विरोध जनाएका हुन्।

समाजवादी मोर्चाले भ्रष्टाचार, बेथिति, र सरकारको नीतिगत कमजोरीविरुद्ध खबरदारी गर्न प्रदर्शनको आयोजना गरेको थियो। सभामा सहभागी नेताहरूले सरकार जनउत्तरदायी बन्नुपर्नेमा जोड दिएका थिए। कुलमान घिसिङको बर्खास्तीलाई अन्यायपूर्ण भन्दै मोर्चाका नेता तथा कार्यकर्ताहरूले उनको पुनर्बहालीको मागसमेत राखेका छन्।

काठमाडौंमा आज दुईवटा फरक विचारधाराका प्रदर्शन भएका छन्। प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले भ्रष्टाचारविरुद्ध सरकारलाई दबाब दिन सभा गरिरहेको छ भने तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका पक्षधरहरूले प्रदर्शन गर्दै छन्। दुवै ठाउँमा ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन्।

समाजवादी मोर्चाले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको नेतृत्वमा ल्याउनुपर्ने माग राख्दै उर्जा क्षेत्रको वर्तमान अवस्थामाथि चर्को आलोचना गर्यो। उनीहरूको भनाइमा, घिसिङको नेतृत्वमा लोडसेडिङ अन्त्य भएको थियो, तर सरकारको निर्णयले ऊर्जा क्षेत्रमा अनिश्चितता बढाएको छ।

प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ। प्रदर्शनीमार्ग र तीनकुने दुवै स्थानमा ट्राफिक व्यवस्थापनमा चुनौती सिर्जना भएको छ भने प्रहरीले सम्भावित अप्रिय घटनालाई रोक्न निगरानी बढाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*