तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, लाठीचार्ज र अँश्रुग्यास प्रयोग

१५ चैत्र २०८१, शुक्रबार १३:३९

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्था समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीले प्रहरीको पहिलो सुरक्षा घेरा तोडेपछि सुरक्षाकर्मीले बल प्रयोग गर्दै लाठीचार्ज र अँश्रुग्यास प्रहार गरेका छन्। स्थिति तनावग्रस्त बन्दै गएपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रदर्शनकारीले पहिलो सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न लाठीचार्ज गरेको थियो। तर, उनीहरू पछि नहट्दा दोस्रो सुरक्षा घेरामा रहेका सुरक्षाकर्मीले पानीको फोहोरा र अँश्रुग्यास प्रयोग गरेका छन्। प्रहरीका अनुसार, भिड नियन्त्रण गर्न सशस्त्र प्रहरीको एक टुकडी पनि तैनाथ गरिएको छ।

झडपका क्रममा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो धकेलाधकेल भएको छ। लाठीचार्जका कारण केही प्रदर्शनकारी घाइते भएका छन् भने केहीलाई नियन्त्रणमा लिइएको छ। प्रदर्शनकारीहरूले प्रहरीलाई ढुंगामुढा प्रहार गर्न खोजेपछि अवस्था झनै तनावग्रस्त बनेको थियो।

प्रदर्शनमा सहभागीहरू दुर्गा प्रसाईंको प्रतीक्षामा रहेका थिए। प्रसाईंको नेतृत्वमा ठूलो जुलुस आएपछि प्रदर्शनकारी झन् आक्रामक बनेका थिए। उनीहरूले बानेश्वरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले झडप रोक्न थप बल प्रयोग गरेको हो।

प्रहरीले तीनकुने क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ। अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्दै सडकमा निगरानी बढाइएको छ। अहिलेसम्म प्रदर्शनकारीहरू बानेश्वरतर्फ अघि बढ्न प्रयास गरिरहेका छन् भने प्रहरीले स्थिति नियन्त्रणमा राख्ने प्रयास जारी राखेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*