ललितपुरमा बीवाईडी गाडी बिक्री गर्ने इको ईभी केयरलाई रोक

१५ चैत्र २०८१, शुक्रबार १२:५२

काठमाडौं । ललितपुरमा बीवाईडी ब्रान्डका विद्युतीय गाडी बिक्री गर्दै आएको इको ईभी केयर प्राली लाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्दै बिक्री वितरणमा रोक लगाएको छ। विभागले निरीक्षणपछि उपभोक्ता मूल्य अत्यधिक निर्धारण गरिएको निष्कर्ष निकाल्दै कम्पनीलाई कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ।

विभागका अनुसार इको ईभी केयर प्रालीले उपभोक्ताबाट अस्वाभाविक रूपमा बढी मूल्य लिएको पाइएपछि बिक्री वितरण तत्काल रोकिएको हो। कम्पनीले बजार मूल्यभन्दा निकै उच्च मूल्य कायम गरेको र उपभोक्तालाई उचित जानकारी नदिएको भन्दै कारबाही अघि बढाइएको विभागले जनाएको छ।

वाणिज्य विभागले चैत १४ गते बिहीबार इको ईभी केयर प्रालीमा निरीक्षण गरेको थियो। उक्त निरीक्षणका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत गतिविधि भएको पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

विभागले कम्पनीलाई आवश्यक कागजातसहित उपस्थित भई स्पष्टिकरण दिन निर्देशन दिएको छ। कम्पनीले उपभोक्ता मूल्य निर्धारणका आधारहरू र व्यवसायिक कागजातहरू पेश नगरे थप कारबाही हुन सक्ने विभागले चेतावनी दिएको छ।

विभागले उपभोक्ताबाट लगातार गुनासो आएपछि अनुगमन गरेको थियो। मूल्य निर्धारणमा पारदर्शिता नदेखिएको, अनावश्यक शुल्क लगाइएको र उपभोक्ता अधिकार उल्लंघन भएको गुनासो आएपछि विभागले कारबाही अघि बढाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*