निर्माण क्षेत्रले लय समात्दैः बैंकहरुले बढाउँदै लगानी, कुनबाट कति कर्जा प्रवाह ?

१५ चैत्र २०८१, शुक्रबार ११:४४

काठमाडौँ । नेपालको निर्माण क्षेत्रले विस्तारै लय समात्न थालेको छ । केही वर्षयता आर्थिक मन्दीका कारण सुस्ताएको यो क्षेत्र अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिन थालेपछि पुनः सक्रिय हुन थालेको हो । ठूला पूर्वाधार परियोजनाहरू अघि बढ्न थालेसँगै निर्माण उद्योगले नयाँ गति लिएको छ ।

निजी क्षेत्रले ठूला भवन, जलविद्युत् आयोजना, सडक, पुललगायतका पूर्वाधारमा लगानी बढाउने प्रयास गरिरहेको छ । लगानीकर्ताहरू यस क्षेत्रमा आकर्षित भइरहेका छन्, जसले निर्माण गतिविधिहरूलाई थप प्रवद्र्धन गरिरहेको छ । निर्माण व्यवसायीहरूले सरकारले भुक्तानी दिने प्रक्रियालाई सहज बनाएको र त्यसका कारण यो क्षेत्र चलायमान बन्दै गएको बताएका छन् । निर्माण कम्पनीहरूले पूर्वनिर्धारित रकम समयमा प्राप्त गर्न थालेपछि नयाँ परियोजनाहरू अगाडि बढ्न थालेका छन् ।

सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिँदै आएको छ । सरकारले प्रदान गरेको नीतिगत सहुलियतका कारण निजी क्षेत्रले बैंक ऋण लिएर ठूला पूर्वाधार परियोजनाहरूमा लगानी बढाइरहेको छ । निर्माण क्षेत्रमा गतिविधि बढेसँगै त्यसको प्रभाव समग्र अर्थतन्त्रमा पनि देखिन थालेको छ । रोजगारी सिर्जना, बैंकिङ कारोबारको वृद्धिसँगै विकास निर्माणले गती लिँदा नेपालमा आर्थिक सुधारको संकेत देखिएको छ ।

निर्माणजन्य गतिविधिहरू बढेसँगै बैंकहरूले पनि यस क्षेत्रमा दिने कर्जा प्रवाह बढाएका छन् । बैंकिङ क्षेत्रको लगानी निर्माण क्षेत्रमा झन्डै ७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्मको तथ्यांकले पनि यो क्षेत्र चलायमान रहेको संकेत दिएको छ ।

चालु आवको ७ महिनामा बैंकहरु निर्माण क्षेत्रमा गर्ने लगानी ६.९० प्रतिशत वृद्धि भएको छ । सो अवधिमा २० वटा वाणिज्य बैंकहरुले २ खर्ब १ अर्ब २८ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन् । जबकि, गत आवको सोही अवधिमा भने बैंकहरुले १ खर्ब ८८ अर्ब २९ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

अधिकांश बैंकहरुले निर्माण क्षेत्रमा लगानी बढाएका छन् भने तर, ६ बैंकको भने घटेको देखिन्छ । निर्माण क्षेत्रमा सबैभन्दा ठुलो लगानी नबिल बैंकको देखिएको छ । बैंकले यो क्षेत्रमा २४ अर्ब ६२ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यो गत आवको माघ मसान्तसम्मको तुलनामा भने १२.०३ प्रतिशत बढी हो ।

यता, एनआइसी एशिया बैंकले २३ अर्ब ११ करोड रुपैयाँ निमार्ण क्षेत्रमा लगानी गरेको छ । लक्ष्मी सनराइज बैंकले पनि निर्माण क्षेत्रमा १९ अर्ब ४७ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । तर, यो गत आवको तुलनामा भने ३७.१३ प्रतिशत कमी हो ।

समिक्षा अवधिमा कुमारी बैंकले निर्माण क्षेत्रमा १६ अर्ब २३ करोड, प्रभु बैंकले १४ अर्ब ५६ करोड, सिटिजन बैंकले १३ अर्ब ६१ करोड, प्राइम बैंकले १२ अर्ब ७० करोड, कृषि विकास बैकले १२ अर्ब ४६ करोड, ग्लोबल आइएमई बैंकले ९ अर्ब ४ करोड, माछापुच्छ्रे बैंकले ७ अर्ब ६३ करोड र स्टान्र्डड चार्टड बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका छन् ।

माघ मसान्तसम्मको अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ३० करोड, सानिमा बैंकले ६ अर्ब ९१ करोड, एनएमबि बैंकले ५ अर्ब ७८ करोड, सिद्धार्थ बैंकले ५ अर्ब १९ करोड, नेपाल बैंकले ४ अर्ब २१ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५४ करोड, एभरेष्ट बैंकले ३ अर्ब ३५ करोड, हिमालयन बैंकले २ अर्ब २३ करोड र नेपाल एसबिआई बैंकले १ अर्ब ७४ करोड रुपैयाँ निर्माण क्षेत्रमा लगानी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*