गभर्नर बन्ने दौडमा रहेका ज्ञानेन्द्र ढुंगानाको योग्यता शंकास्पद, अष्ट्रेलियाबाट स्नातकोत्तर गरेकै हुन् ?

काठमाडौं । चर्चित व्यापारी बिनोद चौधरीका लागि गभर्नर बन्ने दौडमा रहेको नबिल बैंकका निवर्तमान कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगानाको शैक्षिक योग्यता शंकास्पद देखिएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर पद यही चैत २३ गतेदेखि रिक्त हुँदैछ । रिक्त गभर्नर पदका लागि सरकारले अर्थमन्त्री बिष्णु पौडेलको संयोजकत्वमा तीन सदस्य सर्च कमिटी गठन भइसकेको छ । उक्त कमिटीले एक जना डेपुटी गभर्नर सहित तीन जनाको नाम सरकारलाई सिफारिस गर्नेछ । तर, ३ जनाको नाम सिफारिस गर्नुअघि नै नबिल बैंकका निवर्तमान सिईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना गभर्नर बन्ने भन्दै अनेकन चर्चा चलिरहेको छ ।
केन्द्रीय बैंकको गभर्नर बन्ने भन्दै गत साताको आइतबार नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका ढुंगानासँग त्रिभुवन विश्वविद्यालयले समकक्षता दिने स्नातकोत्तर तह उत्तिर्ण गरेको शैक्षिक योग्यता नरहेको खुलेको छ । नेपालबाट स्नातक तह मात्रै उत्तिर्ण गरेका ढुंगानाले अष्ट्रेलियाबाट स्नातकोत्तर गरेको दावी गरेका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकिरहेको छैन । उता, ज्ञानेन्द्र प्रसाद ढुंगानाले भने आफूले अष्ट्रेलियाको द युनिभर्सिटी अफ न्यू साउथ वेल्स (युएनएसडब्लु) बाट स्नोतकोत्तर तह उत्तीर्ण गरेको र आवश्यक परेको ठाउँमा त्रिविविको समकक्षता समेत बुझाउने बीमापोष्टलाई जानकारी दिएका छन् ।
ज्ञानेन्द्र प्रसाद ढुंगानाले मिनभवन क्याम्पसबाट स्नातह उत्तिर्ण गरी नेपाल राष्ट्र बैंकमा जागिर खाएका थिए । उनीले नेपाल राष्ट्र बैंकमा निर्देशक हुँदा विदा लिएरै केही समय अष्ट्रेलियाको युएनएसडब्लु विश्व विद्यालयमा पुगेर अध्ययन गरेका थिए । तर, उनले पढेको कोर्स नेपालको प्रचलित कानुन बमोजिम स्नातकोत्तर मान्न मिल्ने खालको छैन । उनले मास्टर इन फाइनान्सियल एनालाईसिसको कोर्स पुरा गरेका छन् । सो कुरा ढुंगानाले आफ्नो लिङ्कइनमा समेत समावेश गरेका छन् ।
ढुंगानाले पढेको कोर्स दुई बर्षे पुरा तहको स्नातकोत्तर तहको कोर्स भने होइन । युएनएसडब्लु विश्व विद्यालयका अनुसार मास्टर्स इन फाइनान्सियल एनालाइसिस कोर्ष डेढ बर्षको मात्रै हो ।
त्रिविविको नियम अनुसार स्नातकोत्तर तहको कोर्स गर्न दुई वर्षे कोर्स अनिवार्य छ । साथै त्रिविविले समकक्षता दिने कलेजमा अध्ययन गरेको अवस्था मात्रै उनले शैक्षिक प्रमाणपत्रले मान्यता पाउनेछ ।
बीमापोष्टले पटक पटक उनीसँग शैक्षिक योग्यताबारे जिज्ञाशा राख्दा स्पष्ट पार्न कुनै चासो दिएनन् । मात्र केवल परेको ठाउँमा देखाउँला भनेर टारिदिए । उनले भने, ‘परेको ठाउँमा देखाउँला ।’
गभर्नर बन्ने दौडमा रहेका ज्ञानेन्द्र प्रसाद ढुंगानाको गभर्नर यात्रा हल्लामा मात्रै सीमित हुने सम्भावना बढेर गएको छ । नेपाल राष्ट्र बैंक ऐन अनुसार गभर्नर हुनको लागि स्नातकोत्तर तहको शैक्षिक योग्यता अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मै यस्तो व्यवस्था गरिएकेले उनले त्रिविबाट समकक्षता लिएर मात्रै गभर्नरका लागि आवेदन दिनुपर्ने हुन्छ ।
किन हुन चाहन्छन् ढुंगाना गभर्नर ?
नेपाल बंगलादेश बैंकमा हुँदा देखि नै विवादित ढुंगाना चौधरी ग्रुपद्वारा हुर्काइएका बैंकर हुन् । उनी नेपाल बंगलादेश बैंकमा सिईओ हुँदा उक्त बैंकलाई कौडीको भाउमा नबिल बैंकमा मर्ज गराएका थिए । नेपाल बंगलादेश बैंकमा बंगलादेशका एउटा बैंकको शेयर गुगड ग्रुपले किन्ने सम्झौता गरिसकेको अवस्थामा तत्कालिन सिईओ ढुंगानाले नै चौधरी ग्रुपलाई अझै सस्तो मूल्य (कालोकारोबार) गराएर ठूलो मात्रामा नेपाल सरकारलाई समेत कर छली गराउन सफल भएका थिए । अहिले नबिल बैंकको ठुलो मात्रामा लाभांश लैजान राष्ट्र बैंकले रोकेर राखेको अवस्था छ । त्यसैले चौधरी ग्रुप ढुंगानालाई गभर्नर बनाएर उक्त रोकिएको लाभांश फुकुवा गर्न चाहन्छ ।
हालका गभर्नर महाप्रसाद अधिकारी समेत स्नातकोत्तर होइन् । तर, उनलाई उतिबेलाको नियम अनुसार त्रिविविले स्नातकोत्तर तहको समकक्षता दिएकोले सोही कागजको भरमा पाँच बर्ष गभर्नर पद पड्काएर विदा हुँदैछन् । उनको शैक्षिक योग्यताबारेमा पनि सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन रहेको छ । पदावधी सकिन लाग्दा पनि सर्वोच्च अदालतले शैक्षिक योग्यताबारे न्याय दिन सकेको छैन ।
उता, पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्वजनिक नियुक्तीमा योग्यताको बिषयमा अप्ठेरोमा परिसकेको छ । बीमा प्राधिकरणका योग्यता नै नपुगेको र झुठा विवरण पेश गरेर नियुक्त भएको विषयमा प्रधानमन्त्री कार्यालयका कर्मचारीदेखि मुख्य सचिवसम्म मुद्दाको चपेटामा परेपछि नेप्सेको सिईओ नियुक्ती प्रक्रिया बीचैमा तुहिएकोले पनि गभर्नरमा शैक्षिक योग्यतामाथि प्रश्न उठेको व्यक्तिलाई नियुक्ती हुने सम्भावना न्यून छ ।
तल हेर्नुस ज्ञानेन्द्र प्रसाद ढुंगानाले पढेको भनिएको कोर्स/युएनएसडब्लु विश्व विद्यालयको वेभसाइटबाट ।