नेको इन्स्योरेन्सको हकप्रद शेयर आधा पनि बिकेन, पुन लिलामी ल्याइने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद सेयर आधा पनि बिक्रि हुन धौधौ परेको छ । सो कारण कम्पनीले पुनः हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ ।
कम्पनीले फागुन ८ गतेदेखि ४ः१ अनुपात (चुक्ता पुँजीको २५ प्रतिशत) मा ५० लाख ३० हजार ९०२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । अन्तिम दिन अर्थात आज बिहीबार (चैत १४ गते) बिक्री बन्द हुँदासम्म सेयरधनीहरुले २१ लाख ७४ हजार ९७ कित्ता सेयरका लागि मात्र आवेदन दिएको सीडीएसको तथ्यांकले देखाएको छ ।
अर्थात, कुल जारी भएको हकप्रद सेयर संख्याको ४३.२१ प्रतिशत सेयर मात्र बिक्री भएको छ । अहिलेसम्मको सीडीएसको तथ्यांकलाई आधार मान्दा २८ लाख ५६ हजार ८०५ कित्ता हकप्रद सेयर बिक्री भएको छैन । बिक्री नभएको उक्त सेयर अब लिलामीमा ल्याएर बिक्री गर्नुपर्ने हुन्छ । कम्पनीको हकप्रद सेयरमा अन्तिम समयसम्ममा २५ हजार ७५४ जना सेयरधनीहरुले मात्र आवेदन दिएका छन् ।
कम्पनील आवश्यक न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर बिक्री गरेको हो । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयरमा निष्कासित सबै सेयर बिक्री भएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।