ऊर्जा मन्त्री र परराष्ट्रमन्त्रीको पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति, चौबीसै घण्टा विद्युत् दिन सरकार प्रतिवद्ध

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा। आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति जनाएको छ ।
इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत दिएको हो ।
उक्त विद्युत ढल्केवर(मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ । हाल भारतले जुन ३० सम्मका लागि इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।
ऊर्जामन्त्री खड्काको अनुरोध र परराष्ट्र मन्त्री राणाको कूटनीतिक पहलपछि भारतले थप विद्युत् दिने सहमति जनाएको ऊर्जा मन्त्रालयले जानकारी दिएको हो । नेपालमा सुक्खायाममा हुने विद्युत् समस्या समाधानका लागि भारतसरकारसँग थप विद्युत् माग गरेकोमा भारतले सहमति जनाएर विद्युत् उपलब्ध गराएको हो ।
उनले भने, नेपाली जनतालाई चौबीसै घण्टा विद्युत् दिन सरकार प्रतिवद्ध छ, लोडसेडिङ हुने हल्ला मात्र हो, हल्लाको पछि कोही पनि नलागौँ ।
प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने आशंका गरिएको थियो । तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युत्का अतिरिक्त ६ सय मेगावाट विद्युत् दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको मन्त्रालयले जनाएको छ ।