काठमाडौंमा भोलि राजावादी र गणतन्त्रवादी आमनेसामने, ट्राफिक जाम उच्च हुने

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई आफ्नो आन्दोलनको ‘कमान्डर’ तोकेको छ। समितिका संयोजक नवराज सुबेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।
यसै क्रममा समितिले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेको छ भने आगामी चैत २१ गतेदेखि थप सशक्त आन्दोलन गर्ने योजना बनाएको छ। समितिले राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी तथा गणतन्त्रको विरोध गर्दै निरन्तर दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ।
यसैबीच, गणतन्त्र समर्थक दलहरूले पनि प्रदर्शनको तयारी गरेका छन्। समाजवादी मोर्चामा आवद्ध नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूले शुक्रबार (चैत १५) पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता विरुद्ध प्रदर्शन गर्ने भएका छन्। मोर्चाले राजधानीको भृकुटीमण्डप क्षेत्रमा शक्ति प्रदर्शन गर्ने बताइएको छ।
दुवै पक्षका प्रदर्शनका कारण काठमाडौंको मुख्य सडक खण्ड प्रभावित हुने ट्राफिक प्रहरीको आकलन छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार रत्नपार्क, डिल्लीबजार, पुतलीसडक र बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन प्रभावित हुन सक्नेछ। प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई अनुरोध गरेको छ।