शेयर बजारमा हरियालीः उत्साहित लगानीकर्ता, पर्ख र हेरको अवस्था सकिएको हो ?

काठमाडौं । नेपाल स्टक एक्सचेंज (नेप्से) मा बुधवारको उचाइ पछि बिहीबार पनि सुधारको सिलसिला निरन्तर रहनु सकारात्मक संकेत मानिएको छ । सबै समूहका सूचक बढेका छन् र लगानीकर्ताहरु पुनः आकर्षित भएको देखिन्छ । सेयर मूल्य घटेर तल्लो स्तरमा पुगेपछि बजारमा सुधार आएको विश्लेषकहरूको भनाइ छ ।
पहिले लगातार घटेको बजारमा इन्ट्रा डेमा २९ सयको आसपास पुगेको नेप्से अचानक घटेर २५ सयको आसपास पुगेको थियो। यस्तो अवस्थामा सामान्यतया लगानीकर्ताहरु ’वेट एन्ड वाच’ अवस्थामा बस्ने गर्दछन्। बजार बढ्न थालेपछि आम लगानीकर्ताहरुको उत्साह बढ्ने र सेयर खरिद गर्ने प्रक्रिया सुरु हुने गर्छ, जसले बजारमा माग थप्दछ र कारोबार रकम बढाउँछ।
यसअघि बजारमा प्रोफिट बुकिङ र राजनीतिक अस्थिरताको कारण केही नकारात्मक प्रभाव परेको थियो। साथै, सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि बजार थप प्रभावित भएको अनुमान गरिएको थियो। तर, बजार तल्लो स्तरमा पुगेपछि क्रेताहरु पुनः आकर्षित हुनु सामान्य प्रवृत्ति हो। बजारको करेक्सन पूरा भएपछि सकारात्मक माहोल देखा पर्न सक्छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.६७ अकंले बढेर २६६३.५४ बिन्दुमा कायम भएको छ ।आज ३०९ कम्पनीको ९७ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ ।