संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ: मन्त्री खड्का

१४ चैत्र २०८१, बिहीबार १४:२२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच प्रचारबाजी गरेर स्थापित हुने होडबाजी चलिरहेको भन्दै सरकार त्यसप्रति सचेत रहेको बताएका छन्। उनले काम नगरी मिडियाबाजी गरेर अगाडि बढ्न खोज्ने प्रवृत्तिलाई सरकारले रोक्ने चेतावनी दिए।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले भने, ‘कानूनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन। त्यो चाहिँ स्वच्छाचारी हुन्छ। यो व्याप्त छ अहिले। हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ, प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ। कर्मचारी साथीहरूलाई पनि हेर्छु म— को चाहिँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ। यसले समाजलाई कहीं पुर्याउँदैन। साँच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं, मेरो आग्रह छ। यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ। काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानूनभित्र बसेर काम गर्ने हो। यसमा तपाईंहरूको पनि ध्यान जाओस्।

त्यस्तै, उनले सरकार सन् २०३५ सम्ममा जडित विद्युत् क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने तथा प्रतिव्यक्ति वार्षिक १ हजार ५०० युनिट विद्युत् खपतको लक्ष्यसहित अघि बढिरहेको जानकारी गराए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*