राष्ट्र बैंकद्वारा ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना, के के हुन्छ सुविधा ?

काठमाडौं । बैंकिङ तथा भुक्तानी प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै वित्तीय सेवा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना गरेको छ।
नयाँ प्रविधिमा आधारित वित्तीय सेवा विकासका क्रममा वित्तीय नवप्रवर्तकहरूले सामना गर्ने नीतिगत तथा नियामकीय विषयबारे जानकारी प्रदान गर्न, नवप्रवर्तनकारी प्रस्तावहरूको विश्लेषण गर्दै त्यसबाट उत्पन्न अवसर तथा चुनौतीहरूको मूल्यांकन गर्न यो हब स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ।
यस हबमार्फत नियामकीय दृष्टिकोण, गैर-बाध्यकारी मार्गदर्शन, परामर्श तथा सुझाव उपलब्ध गराइनेछ। साथै, नवप्रवर्तकहरूलाई नियामक निकायहरूसँग सहज पहुँच स्थापना गर्न सहयोग पु-याउने लक्ष्य लिइएको छ।
नवप्रवर्तनलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले अन्य नियामक निकाय, सरोकारवाला संस्था तथा निजी क्षेत्रको समेत सहभागिता रहने व्यवस्था मिलाइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।