३ अर्बको अनलाइन सट्टाबाजी र क्रिप्टो कारोबारमा संलग्न ११ भारतीय नागरिक पक्राउ

काठमाडौं । करिब ३ अर्ब रुपैयाँ बराबरको अनलाइन सट्टाबाजी र क्रिप्टो कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका–३, देउला टोलबाट विशेष अपरेसनमार्फत चैत १२ गते साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले २ अर्ब रुपैयाँभन्दा बढी रकमको अनलाइन सट्टाबाजी सञ्चालन गरिरहेका थिए भने करिब ९६ लाख रुपैयाँ बराबरको क्रिप्टो मुद्रा कारोबार गरेको प्रमाण फेला परेको छ।
काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरू भारतको राजस्थान राज्यका विभिन्न जिल्लाका १९ देखि २८ वर्ष उमेर समूहका रहेका छन्। उनीहरूको साथबाट ३४ वटा मोबाइल, ५ वटा ल्यापटप, ४ वटा हिसाबकिताब राखिएको नोटबुक, १४ वटा भारतीय बैंक चेकबुक, २७ वटा भारतीय एटीएम कार्ड र ४० वटा भारतीय सिमकार्ड बरामद गरिएको छ।