सगरमाथा सफाइका लागि नेपाल लाइफ र राउन्ड टेबल नेपालबीच सम्झौता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र राउन्ड टेबल नेपालबीच माउन्ट एभरेस्ट क्लिन अप इनिसिएटिभ २०२५ अभियानका लागि समझदारी भएको छ ।
बिहीबार काठमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल कलेजमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुली र राउन्ड टेबल नेपालका सभापति प्रवेश अग्रवालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार माउन्टेनमा रहेको प्लास्टिक जन्य पदार्थलाई संकलन गरेर काठमाडौं तथा बिभिन्न स्थानमा लगेर रिसाइकल गरेर पुनः प्रयोगयोग्य बनाइनेछ ।
इन्स्योरेन्सका सीईओ पराजुलीले सगरमाथालाई नेपाललाई विश्वभर चिनाउने प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चित्रण गर्दै यस क्षेत्रको सरसफाइमा योगदान गर्न पाउँदा खुशी लागेको बताए ।
उनले भने, ‘बीमा व्यवसायले मानिसको जीवनको जोखिम वहन गर्ने काम गर्छ, तर नेपाल लाइफ अब सगरमाथाको प्राकृतिक सुन्दरता जोगाउने जिम्मेवारी पनि लिँदैछ । पर्यटन क्षेत्रको दीर्घकालीन संरक्षणका लागि यो अभियान महत्त्वपूर्ण छ।’
राउन्ड टेबल नेपालका सभापति अग्रवालले संकलित फोहोरको रिसाइकलबाट प्राप्त नाफा विभिन्न शैक्षिक संस्थालाई सहयोग गर्न प्रयोग गरिने जानकारी दिए ।
सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कयाल, राउन्ड टेबल नेपालका सभापति प्रवेश अग्रवाललगायतको उपस्थिति रहेको थियो ।