सिटिजन लाइफ र साल्ट ट्रेडिङ्गको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने

१५ चैत्र २०८१, शुक्रबार ०६:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा आज चैत १५ गते शुक्रबार बस्दैछ।

सिटिजन लाइफको साधारणसभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

त्यस्तै बोनस शेयर बाँडेपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि रहेको छ। त्यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

सभा प्रयोजनार्थ सिटिजन लाइफले फागुन २८ गते बुक क्लोज गरिसकेको छ। यसर्थ फागुन २७ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

साल्ट ट्रेडिङ्गको साधारणसभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै ऋण सुविधा लिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पीडितको लागि जम्मा गरेको राहत रकम अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ। त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभा प्रयोजनार्थ साल्ट ट्रेडिङ्गले चैत १ गतेदेखि बुक क्लोज गरिसकेको छ। यसर्थ फागुन २८ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*