ट्रम्पद्वारा गाडी र पार्ट्सको आयातमा २५% कर लगाउने घोषणा, विश्वभर अटोबजारमा कति पर्छ धक्का ?

१४ चैत्र २०८१, बिहीबार १२:००

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात गरिने गाडी तथा गाडीका पार्ट्समा २५ प्रतिशत नयाँ कर लगाउने घोषणा गरेका छन्। उक्त कर आगामी अप्रिल २ बाट लागू हुने जनाइएको छ। गाडी आयात गर्ने व्यवसायीहरूका लागि कर अर्को दिनदेखि प्रभावकारी हुनेछ भने गाडीका पार्ट्समा लागू हुने कर मे महिनादेखि वा त्यसपछि सुरु हुने बताइएको छ।

राष्ट्रपति ट्रम्पले यो कदमले अमेरिकी अटोमोबाइल उद्योगमा ‘असाधारण वृद्धि’ ल्याउने दाबी गर्दै रोजगार र लगानी बढाउने आशा व्यक्त गरेका छन्। तर, विश्लेषकहरूका अनुसार यस कदमले अस्थायी रूपमा अमेरिकी कार उत्पादन प्रभावित पार्ने, गाडीको मूल्य वृद्धि गराउने तथा अमेरिका र उसका व्यापारिक साझेदारहरूबीच तनाव उत्पन्न गराउने सम्भावना रहेको छ।

अमेरिकाले गत वर्ष मात्रै करिब आठ मिलियन गाडी आयात गरेको थियो, जसको मूल्य करिब २४० अर्ब अमेरिकी डलर (करिब १८६ अर्ब पाउन्ड) बराबरको रहेको थियो। यो संख्या अमेरिका भित्र बिक्री हुने कुल गाडीको करिब आधा हो। अमेरिका भित्रिने गाडीहरूको प्रमुख आपूर्तिकर्ता मुलुकहरूमा मेक्सिको, दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी रहेका छन्। ट्रम्पको पछिल्लो निर्णयले विश्वव्यापी अटोमोबाइल व्यापार र आपूर्ति श्रृंखलालाई नराम्रो असर पार्न सक्ने बताइएको छ।

अमेरिकी कार कम्पनीहरूले पनि मेक्सिको र क्यानडामा उत्पादन केन्द्रहरू सञ्चालन गरिरहेका छन्, जसले अमेरिका, मेक्सिको र क्यानडाबीच लामो समयदेखि कायम रहेको स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत सुविधा लिएका छन्।

ह्वाइट हाउसका अनुसार यो आदेश केवल गाडीमै सीमित नरही गाडीका पार्ट्समा पनि लागू हुनेछ। अमेरिकी भन्सार तथा सीमाशुल्क निकायले कर निर्धारण गर्ने प्रणाली विकास नगरेसम्म क्यानडा र मेक्सिकोबाट आउने पार्ट्समा भने अस्थायी रूपमा छुट दिइने उल्लेख गरिएको छ। यी दुई छिमेकी राष्ट्रहरूबीच दैनिक रूपमा अर्बौं मूल्यका सामान आदानप्रदान हुने गर्छ।

ट्रम्पको घोषणापछि अमेरिकी अटोमोबाइल कम्पनीहरूको शेयर बजारमा गिरावट आएको छ। जनरल मोटर्सको शेयर ३ प्रतिशतले घटेको छ भने फोर्डसहित अन्य कम्पनीहरू पनि प्रभावित भएका छन्। पत्रकार सम्मेलनमा ट्रम्पलाई यो निर्णय फिर्ता लिने कुनै सम्भावना छ कि भनेर सोधिएको प्रश्नमा उनले ‘कदापि हुँदैन’ भन्ने जवाफ दिएका थिए। साथै, उनले थपे, ‘यदि तपाईंले अमेरिकाभित्रै गाडी उत्पादन गर्नुभयो भने कुनै कर लाग्दैन।’

ट्रम्पको घोषणापछि जापानी प्रधानमन्त्री शिगेरु इसिबाले आफ्नो सरकारले ‘सबै सम्भावित उपायहरू’ अपनाउने बताएका छन्। जापान विश्वको दोस्रो ठूलो गाडी निर्यातकर्ता देश हो, जहाँ टोयोटा, निसान, होन्डाजस्ता ठूला कम्पनीहरू छन्। ट्रम्पको घोषणापछि टोकियोको सेयर बजारमा यी कम्पनीहरूका शेयर ओरालो लागेको छ।

विश्लेषकहरूका अनुसार मेक्सिको र क्यानडाबाट आउने पार्ट्समा २५ प्रतिशत कर लाग्दा गाडीको लागत करिब ४,००० देखि १०,००० अमेरिकी डलरसम्म वृद्धि हुन सक्नेछ। ट्रम्पको नीतिले अन्य देशहरूले पनि अमेरिकी उत्पादनमा प्रतिशोधस्वरूप कर लगाउने सम्भावना बढाएको छ। यसले वैश्विक व्यापार प्रणालीलाई थप अव्यवस्थित बनाउने आँकलन गरिएको छ। बेलायत, जसका लागि अमेरिका प्रमुख बजार हो, अमेरिकी प्रशासनसँग वार्ता गरिरहेको छ। जगुआर ल्यान्ड रोभरले गत वर्ष मात्रै अमेरिकामा १,१६,२९४ गाडी बिक्री गरेको थियो, जुन बेलायत र चीनभन्दा बढी हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*