फागुन महिनामा ३९ हजार बीमा पोलिसी निष्क्रिय

काठमाडौं । जीवन बीमा कम्पनीहरूले फागुन महिनामा मात्रै चार लाख १९ हजार बीमालेख जारी गरेका छन्। माघ महिनामा चार लाख २८ हजार बीमालेख जारी गरेका बीमा कम्पनीहरुको बीमालेख अघिल्लो महिनाको तुलनामा घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
एक महिनामै ३९ हजार बीमा पोलिसी निष्कृय देखिएका छन् । कतिपयले समयमा बीमापोलिसी नगरेको र कतिपयले बीमापोलिसी सरेण्डर गर्ने योजनामा रहेको बीमा अभिकर्ताहरुको भनाई छ ।
माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले जारी गरेर सक्रिय रहेका कुल बीमालेखको संख्या एक करोड ३४ लाख सात हजार रहेकोमा फागुनसम्ममा यो संख्या एक करोड ३४ लाख ४६ हजार पुगेको छ।
फागुन महिनामै चार लाख २८ हजारले नयाँ बीमालेख जारी गरेकोमा यो अवधिसम्मको सक्रिय बीमालेख संख्यामा भने करिब ४० हजारले मात्रै वृद्धि भएको छ।’यसको अर्थ कतिपय बीमा लेखको शुल्क तिरिएको छैन, कतिपय समर्पण भएको छ भने केही ल्याप्स नै भएको हुनसक्ने बीमा अभिकर्ताहरुले बताएका छन् ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार करिब तीन लाख ७९ हजार पाँच सय ९ वटा बीमालेख यसरी निष्क्रिय भएको देखिन्छ।