सुनसरीमा कृषि सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई एक दिने प्रशिक्षण सम्पन्न

१४ चैत्र २०८१, बिहीबार ११:३४

काठमाडौँ । देशव्यापी सहकारी सुदृढीकरण अभियानअन्तर्गत सुनसरी जिल्लाका कृषि सहकारी संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्यहरू तथा कर्मचारीहरूको सहभागितामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय इटहरी र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को आयोजनामा सम्पन्न कार्यक्रममा सहकारी क्षेत्रमा सुशासन र पारदर्शिता अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारी संस्थाहरूलाई सही मार्गमा अघि बढाउन सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्यहरू तथा कर्मचारीहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले सहकारी संस्थाहरूमा सुशासन स्थापित गर्न र आर्थिक अनुशासन कायम राख्न पारदर्शी व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए ।

हाल सुनसरी जिल्लामा करिब २५० भन्दा बढी कृषि सहकारी संस्था क्रियाशील रहेका छन्। तिनका सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी र कर्मचारी गरी १८ सहकारी संस्थाबाट प्रतिनिधिहरू सहभागी भएका थिए।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा सुपरिवेक्षण समितिका सदस्य, साना किसान विकास लघुवित्त वित्तीय संस्था इटहरी शाखाका प्रमुख, प्रदेश संघ तथा जिल्ला संघका पदाधिकारीहरू, साथै प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष, सञ्चालक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सहकारी सुदृढीकरणका लागि सहकारी क्षेत्रका सरोकारवालाहरूको सक्रियता आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*