गरिसकेको काम फेरि गरेको भन्दै १४ लाख भ्रष्टाचारः गाउँपालिकाका पूर्वअध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । बझाङ्गको खप्तडछान्ना गाउँपालिकाको सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियारका अनुसार घट्ट सिंचाई कुलो निर्माण योजना आर्थिक वर्ष २०७६/७७ मा नै सम्पन्न भइसकेको थियो। तर प्रतिवादीहरूले आर्थिक वर्ष २०७७/०७८ मा कुनै नयाँ काम नगरिकनै झूटो कागजात तयार गरेर १४ लाखभन्दा बढी सरकारी रकम हिनामिना गरेका हुन्।
अनुसन्धानमा आरोपीहरूले झूट्टा लिखत तयार गरी उपभोक्ता समितिलाई भुक्तानी दिन सिफारिस गरेको, योजनासम्बन्धी सरकारी कागजात नष्ट गरेको र १४ लाख ८ हजार ८१७ रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ।
अख्तियारले तत्कालीन खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकाया, वडा नम्बर ४ का वडाध्यक्ष भीम बहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार रावल, इन्जिनियर सुरेन्द्र बहादुर खाती, प्रावधिक असिष्टेण्ट इन्जिनियर जनक थापा मगर, लेखापाल मदन राज जोशी र उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकायालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।