बीमा प्राधिकरण, जीवन बीमक संघ र जापानको फालिया टोलिबीच भेटवार्ता, ‘बीमा निबन्ध प्रतियोगिता’ सञ्चालन गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरण, जीवन बीमक संघका पदाधिकारी र जापानको फालिया टोलीबीच भेटवार्ता भएको छ । नेपालमा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि बीमा साक्षरता कार्यक्रमः ‘बीमा निबन्ध प्रतियोगिता’ बारे छलफल गर्न फालिया टोलीसँग भेटवार्ता गरेको बीमक संघले जनाएको छ ।
जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले नेपाली बिद्यार्थीहरुमाझ ‘बीमा निबन्ध प्रतियोगिता’ आयोजना गर्नको लागि जापानको फालिया टोलिसँग भेटवार्ता गरेको बताए ।
उनले भने, ‘हामीले बिद्यार्थीहरुलाई बीमा सचेतना फैलाउने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गर्न लागेका हौ । यसले गर्दा विद्यार्थीहरुले बीमाको बारेमा खोज–अनुशन्धान गर्ने बानीको विकास हुन्छ र सहभागिताले झन बीमाप्रति ज्ञान बढ्ने भएकाले कार्यक्रम आयोजना गर्न लागिएको हो ।’
निबन्ध प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढीरहेको र निबन्ध प्रतियोगितामा उत्कृष्ट भएका तीन जना प्रतिस्पर्धीहरुले एक हप्ताको लागि जापान भ्रमणको अवसर समेत पाउने र अन्य उत्कृष्ट सहभागिहरुले नगदसहित पुरस्कार पाउने व्यवस्था गरीएको अध्यक्ष पौडेलले बीमापोष्टलाई बताए । साथै, उनले यस कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाउँदै लगिने प्रतिवद्धता समेत जनाएका छन् ।
जीवन बीमक संघले जापानको फालिया टोलिसँग कार्यक्रम तालिका र अन्य प्रक्रियाहरूको समन्वय गरेर कार्यक्रम सञ्चालनपछि जसमा विजेताहरूलाई पुरस्कार प्रदान गरिने जनाएको छ । फालिया टोलिले निरन्तर रुपमा नेपाली जीवन बीमा बजारको विकासको लागि सहयोग गर्दै आएकोप्रति संघले धन्यवाद समेत व्यक्त गरेको छ ।
भेटवार्तामा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र कार्यकारी प्रमुख सुशीलदेव सुवेदीसहितको सहभागिता रहेको थियो । बीमक संघले नेपाल बीमा प्राधिकरणसँग सल्लाह र सहभागितामा उक्त कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
साथै, जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफका सीईओ पोषकराज पौडेल, संघका उपाध्यक्ष तथा नेपाल लाइफका सीईओ प्रविन रमण पराजुली, कोषाध्यक्ष तथा एशियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठ र महासचिव तथा सूर्यज्योति लाइफका सीईओ प्रकाश बिक्रम खत्री र फालिया टोलिका पदाधिकारीको सहभागिता रहेको थियो ।