वर्षदिनमा श्री एयरको व्यापार ४ अर्ब, वित्तीय सूचक मजबुत बन्दै गएपछि रेटिङमा पनि सुधार

काठमाडौँ । वर्ष दिको अवधिमा श्री एयरलाइन्स लिमिटेडले ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । इन्फोमेरिक्स नेपालका अनुसार कम्पनीले एयरलाइन्सले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो । जुन नाफा सन् २०२३ को तुलनामा ४.५० प्रतिशतले कम हो । सन् २०२३ मा श्री एयरले ४ अर्ब २६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
श्री एयरले सन् २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । १९९९ मा एयर अनन्याका रूपमा स्थापित भई पछि श्री एयरलाइन्स प्राइभेट लिमिटेड नामकरण गरिएको कम्पनी हाल सार्वजनिक कम्पनीमा रुपान्तरण भई २०२३ जुलाईदेखि श्री एयरलाइन्स लिमिटेडको रूपमा परिचालित छ । श्री एयरलाइन्स नेपालमा घरेलु उडान सेवा प्रदान गर्ने प्रमुख कम्पनीमध्ये एक हो । काठमाडौंस्थित मुख्यालयबाट सञ्चालन हुँदै आएको यो कम्पनीले विभिन्न प्रमुख गन्तव्यहरूमा सेवा दिँदै आएको छ । साथै, यसले हेलिकोप्टर चार्टर सेवासमेत प्रदान गरिरहेको छ ।
हाल श्री एयरलाइन्सको स्थिर–पंखतर्फको फ्लीटमा दश वटा बमबार्डियर विमान रहेका छन्, जसमा तीन वटा जेट र सात वटा टर्बोप्रोप विमान (दुई टर्बोप्रोप लिजमा) छन् । त्यस्तै, हेलिकोप्टर सेवातर्फ कम्पनीसँग छ वटा एमआई–८ हेलिकोप्टर र दुई वटा एयरबस रहेका छन् । श्री एयरलाइन्सका प्रमुख लगानीकर्ता सुधीर मित्तल रहेका छन्, जसले कम्पनीको ९९.८९ प्रतिशत स्वामित्व राखेका छन् ।
सञ्चालन नाफा हेर्दा सन् २०२१ मा ३७ करोड ९० लाख रुपैयाँ रहेकोमा सन् २०२२ मा ७४ करोड १० लाख रुपैयाँ पुगेको छ । सन् २०२३ मा ९० करोड २० लाख रुपैयाँ पुगेको यो नाफा सन् २०२४ मा झन् वृद्धि भई १ अर्ब १० करोड २० लाख रुपैयाँ पुगेको छ । कर पछिको नाफा सन् २०२१ मा १३ करोड १० लाख रुपैयाँ रहेकोमा सन् २०२२ मा १८ करोड ८० लाख रुपैयाँ पुगेको छ । सन् २०२३ मा भने १६ करोड १० लाख रुपैयाँमा खुम्चिएको देखिन्छ । तर, सन् २०२४ मा यो नाफा उल्लेखनीय रूपमा बढेर ३५ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको सञ्चालन नाफा अनुपात सन् २०२१ मा २७.४१ प्रतिशत रहेकोमा सन् २०२२ मा २१.४३ प्रतिशतमा झरेको थियो । सन् २०२३ मा २१.१५ प्रतिशत कायम भएको यो सूचक सन् २०२४ मा सुधार भई २७.०६ प्रतिशत पुगेको छ । हालको अनुपात सन् २०२३ मा ०.६१ गुणा पुगेको थियो भने सन् २०२४ मा ०.९९ गुणा पुगेको छ ।
कुल ऋण–इक्विटी अनुपार्त २०२३ मा ३.१२ गुणामा झरेको देखिन्छ । सन् २०२४ मा पुनः बढेर ४.०३ गुणा पुगेको छ । कुल दायित्व–नेटवर्थ अनुपात सन् २०२१ मा ६.४९ गुणा रहेकोमा सन् २०२२ मा ८.४४ गुणा पुगेको थियो । सन् २०२३ मा यो ५.८४ गुणामा झरेको देखिन्छ भने सन् २०२४ मा हल्का वृद्धि भई ५.९५ गुणा पुगेको छ ।
ब्याज कभरेज अनुपात सन् २०२३ मा १.९८ गुणा रहेको यो अनुपात सन् २०२४ मा सुधार भई २.५८ गुणा पुगेको छ । ऋण सेवा कभरेज अनुपात सन् २०२१ मा १.८७ गुणा रहेकोमा सन् २०२२ मा १.५७ गुणा पुगेको थियो । सन् २०२३ मा १.०९ गुणामा झरेको यो अनुपात सन् २०२४ मा १.२७ गुणा पुगेको छ ।
श्री एयरलाइन्स लिमिटेडको क्रेडिट रेटिङ सुधार हुँदै उच्च मूल्यांकन प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले कम्पनीको ऋण सुविधाको रेटिङ उकास्दै दीर्घकालीन बैंक ऋण सुविधालाई ट्रिपल बी माइनस तथा अल्पकालीन बैंक ऋण सुविधालाई ए थ्री मा स्तरोन्नति गरेको छ । इन्फोमेरिक्स नेपालले श्री एयरलाइन्सको दीर्घकालीन बैंक ऋण सुविधाको रेटिङ पहिलाको डबल बी बाट सुधार गर्दै ट्रिपल बी माइनस मा पु¥याएको छ । यो श्रेणी कम्पनीको वित्तीय स्थायित्वमा सुधार देखिएको संकेत मानिन्छ ।
त्यस्तै, कम्पनीको छोटो अवधि बैंक ऋण सुविधाको रेटिङ ए फोर बाट सुधार गर्दै ए थ्री मा पु¥याइएको छ। यस सुधारले कम्पनीको अल्पकालीन वित्तीय दायित्व तिर्न सक्ने क्षमतामा वृद्धि भएको देखाउँछ । श्री एयरलाइन्सको दीर्घकालीन ऋण सुविधा हाल ४ अर्ब ३६ करोड ८४ लाख ८० हजार रुपैयाँ रहेको छ, जुन पहिला २ अर्ब ५५ करोड १७ लाख २० हजार रुपैयाँ थियो।
त्यस्तै, छोटो अवधिको बैंक ऋण सुविधा हाल १ अर्ब ४२ करोड ३७ लाख १० हजार रुपैयाँ रहेको छ, जुन पहिला १ अर्ब ३० करोड ३८ लाख ८० हजार रुपैयाँ थियो। कम्पनीको वित्तीय प्रदर्शनमा सुधार, ऋण चुक्ता गर्ने क्षमताको वृद्धि तथा बजारमा प्रतिस्पर्धी अवस्था मजबुत बन्दै गएपछि इन्फोमेरिक्स नेपालले रेटिङ सुधार गरेको हो।