सरकारविरुद्धका प्रदर्शनहरूमा सहभागी हुने रास्वपाको घोषणा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा सरकारको निर्णयको विरोध गर्दै प्रदर्शनमा सहभागी हुने घोषणा गरेको छ। रास्वपाले सरकारले गरेको निर्णयलाई बदनियतपूर्ण र भ्रष्टाचारीहरूको संरक्षणको हिस्सा भनेर आलोचना गरेको छ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुने छ।’
यसका साथै, रास्वपाले घिसिङलाई विद्युत प्राधिकरणको वित्तीय सुदृढीकरणको प्रयासका क्रममा बर्खास्त गरिएको बताउँदै सरकारको यो कदम अस्वीकृत गरेको छ।
रास्वपाको भनाइ अनुसार, दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोबाट मुक्त गर्न घिसिङले मुख्य भूमिका निभाएका थिए, तर उनलाई बदनियतपूर्वक बर्खास्त गरिएको छ।’ पार्टीका नेता अनुसार, यो कदम सरकारको बिचौलियाहरूको संरक्षणको प्रयास हो जसले प्राधिकरणको सुधारका प्रयासलाई अवरुद्ध गरेको छ।