आगलागी भएको सांग्रिला प्लाई उद्योगको ३५ करोडको बीमा नेशनल इन्स्योरेन्समा

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ मा रहेको सांग्रिला प्लाई उद्योग अन्तर्गतको गणपति भिनर तथा प्लाबोर्ड इन्डस्ट्रीको बीमा नेशनल इन्स्योेरेन्समा रहेको छ । आइतबार रातिदेखि आगलागीबाट पूर्ण रुपमा नष्ट भएको सांग्रिला उद्योगले नेशनल इन्स्योेरेन्समा ३५ करोड रुपैयाँको बीमा गरेको हो ।
प्लाईबोर्डमा लागेको आगलागी नियन्त्रण भएपछि कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नेशनल इन्स्योरेन्समा बीमा दावीको लागि निवेदन पेश गरेपछि बीमा दावी भुक्तानीको प्रक्रिया अघि बढ्ने छ ।
नेशनल इन्स्योरेन्सको दाङ सव–ब्रान्चका प्रमुख हिरेन्द्र पीडी कर्णले गणपति भिनर तथा प्लाइबोर्ड इन्डिस्ट्रीको बीमा नेशनल इन्स्योरेन्समा ३५ करोड रुपैयाँको रहेको बताएका छन् । उनले भने, ‘बजारमा अहिले विभिन्न थरी कुरा गरीरहेका छन् । कसैले एक करोडको बीमा भन्छन् त कसैले दुई करोडको तर, त्यस्तो होइन । त्यो आगलागी भएको प्लाइबोर्ड उद्योगको ३५ करोडको बीमा हाम्रो कम्पनीमा रहेको छ ।’
आगलागीबाट सांग्रिला प्लाई उद्योगको अर्बौ रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । जिल्ला प्रहरी दाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कविराज रोकायाले क्षतिको एकीन विवरण आउन अझै केही समय लाग्ने बताए ।
‘उद्योगका सञ्चालकहरु अहिले आफै बिचलित भएका छन् । आगलागी नियन्त्रणमा आएपछि अनि बल्ल सोधपुेछ गरेर सबै सामानको विवरण आएपछि मात्र कति क्षति भयो भनेर भन्न सकिन्छ, । अहिले क्षतिको कुनै पनि विवरण आएको छैन ।’ प्रहरी निरीक्षक रोकायले भने ।
दावी परेपछि नेशनल इन्स्योरेन्सले सर्भेयर पठाएर क्षतिको विवरणसहितको प्रतिवेदन पेश गरेको खण्डमा कम्पनीले बीमा दावी भुक्तानी गर्ने प्रावधान रहेको छ ।
दाङको सांग्रीला प्लाई उद्योगमा भएको आगलागी अझै नियन्त्रण बाहिर