आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन् । मंगलबार काठमाडौँको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उक्त स्कुलको शुभारम्भ गरेका हुन् ।
यस स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ । स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।
आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको छ ।
आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरुमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ। आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए । उनले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए । उनले यस स्कूलले थप हजारौ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
काठमाडौँ टेक्निकल स्कुल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामि दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तीमा आज उद्घाटन गरिएको यस स्कूलले सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कुटनीतिक नियोग तथा दात्रृ निकायका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।