कुलमान घिसिङ समर्थक र प्रहरीबीच धकेलाधकेल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै समर्थकहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेपछि स्वतन्त्र युवाहरूले मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध नाराबाजी गरेका हुन्।
विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर तनाबको अवस्था सिर्जना भएको थियो। नाराबाजी गर्दै अगाडि बढ्न खोजेका घिसिङ समर्थकहरूलाई प्रहरीले रोकेपछि दुवै पक्षबीच धकेलाधकेल भएको थियो।
समर्थकहरूले घिसिङको बर्खास्तीलाई सरकारको निरंकुश कदम भन्दै पुनर्बहालीको माग गरेका छन्। प्रदर्शनकारीहरूले ‘कुलमानलाई फिर्ता गर’, ‘विद्युत् सेक्टरको राजनीतिकरण बन्द गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा बाक्लो उपस्थिति जनाएको छ।