राजनीतिक अस्थिरताले बजारमा भारी गिरावटः डुब्दै लगानी, थप संकट आउने संकेत

१२ चैत्र २०८१, मंगलवार १५:०७

काठमाडौं । पछिल्लो राजनीतिक अस्थिरतासँगै शेयर बजारमा भारी गिरावट आएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि सरकारविरुद्ध चर्किएको आन्दोलन र गणतन्त्रविरोधी प्रदर्शनका कारण बजार निरन्तर ओरालो लागेको हो । विपक्षी दलहरूसहित विभिन्न समूहहरू सडकमा उत्रिँदा सरकार संकटमा परेको देखिन्छ, जसको प्रत्यक्ष असर पुँजी बजारमा देखिएको छ ।

लगातार घट्दो शेयर बजारले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । नेप्से सूचक २६०० बिन्दु तल पुगिसकेको छ भने बजारमा नीतिगत अन्योल र लगानीकर्ताको विश्वास खस्कँदै गएको छ । जानकारहरूका अनुसार आर्थिक रूपमा कुनै ठोस कारण नभए पनि राजनीतिक अस्थिरता, सरकारको आर्थिक नीति तथा बजारमाथिको अविश्वासका कारण लगानीकर्ता दोधारमा परेका छन् ।

बजार घट्दै जाँदा विशेष गरी उधारो कारोबार गर्ने लगानीकर्ताहरू बढी प्रभावित भएका छन् । सेटलमेन्टका लागि सेयर बेच्नुपर्ने दबाबका कारण आपूर्तिमा वृद्धि हुँदा बजार थप घटिरहेको विश्लेषकहरू बताउँछन् । सामाजिक सञ्जाल र प्रविधि विश्लेषणमा आधारित कारोबारले पनि बजारलाई अस्थिर बनाएको देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.९० अकंले घटेर २५८४.८८ बिन्दुमा कायम भएको छ । ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सबै उपसूचकमा समेत पहिरो गएको छ । यसदिन विकास बैंक समूहको ३.२६ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशत, हाइड्रोपावर समूहको ३.०४ प्रतिशत,बैंकिङ समूहको १.४० प्रतिशत, होटल तथा पर्यटन समूहको २.८२ प्रतिशतले घटेको छ ।

आज ४ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*