प्रधानमन्त्रीको बिरोधमा नारा डिस्प्ले भएपछि प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुखमाथि आक्रमण

काठमाडौँ । चितवनको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमा डिजिटल सूचना बोर्ड ह्याक गर्ने घटनापछि कार्यालयमा तोडफोड तथा आक्रमण भएको छ। हिजो (चैत ११) दिउँसो १२ बजे कार्यालयको सूचना बोर्ड ह्याक गरी देशको सम्माननीय प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरू अपलोड गरिएको थियो। प्राधिकरणले उक्त कार्यलाई गम्भीर साइबर अपराधको रूपमा लिँदै घटनाको छानबिन र संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गरेको थियो।
तर, आज (चैत १२) बिहान करिब १० बजे ३५-४० जनाको समूह कार्यालयमा प्रवेश गरी कार्यालय प्रमुखको कार्यकक्षमा तोडफोड गरेको र कार्यालय प्रमुखमाथि आक्रमण समेत गरेको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले यो घटनालाई गम्भीर मान्दै सार्वजनिक सेवा प्रवाह गर्ने कर्मचारीहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको जनाएको छ।
प्राधिकरणले साइबर अपराधका दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै कार्यालय तोडफोडमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग अपिल गरेको छ। साथै, सार्वजनिक कार्यालय तथा कर्मचारीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न पनि आग्रह गरिएको छ।