संकटमा रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने, उत्पादन चैत तेस्रो सातादेखि सुरु हुने

१२ चैत्र २०८१, मंगलवार १३:१३

काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने भएको छ । उद्योगका मेसिनहरूको मर्मत सकिएको कच्चा पदार्थ सुनिश्चित भएको र कर्मचारी काममा फर्किन सहमत भएपछि उद्योगले चैतको तेस्रो साताबाट उत्पादन प्रक्रिया थाल्ने तयारी गरेको छ ।

स्थापनाकालमै जडान गरिएका जीर्ण मेसिनहरू प्रतिस्थापन गर्नुपर्ने आवश्यकता रहे पनि आर्थिक अभावका कारण तत्काल नयाँ मेसिन जडान सम्भव नभएपछि मर्मत गरेरै उत्पादन अघि बढाउने निर्णय भएको छ। उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको आपूर्ति सुनिश्चित भइसकेको छ। मौज्दातमा रहेको कोइलाका साथै थप कोइला आपूर्ति प्रक्रिया अघि बढाइएको छ, जसले उत्पादनमा कुनै अवरोध नआउने उद्योगले जनाएको छ।

उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् आपूर्तिबारे नेपाल विद्युत् प्राधिकरणसँग सहमति भइसकेको छ, जसअनुसार नियमित आपूर्ति हुने प्रतिबद्धता व्यक्त गरिएको छ। उद्योग मर्मत आवश्यक भएकाले गत असोज १५ गतेदेखि उत्पादन बन्द गरिएको थियो, जसका कारण कर्मचारीहरूले विगत तीन महिनादेखि तलब भत्ता प्राप्त गर्न सकेका छैनन्। अब उत्पादन पुनः सञ्चालन भएपछि उद्योगको आर्थिक अवस्था सुधार हुने र नियमित तलब तथा भुक्तानी व्यवस्थापन गरिने अपेक्षा गरिएको छ।

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले आवश्यक मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि उत्पादन बन्द गरेको थियो । उद्योग बन्द भएपछि कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् ।

सन् १९७६ (वि.सं. २०३३) मा हेटौँडाको लामसुरेमा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले सन् १९८६ (वि.सं. २०४३) देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्याका कारण पटक–पटक उद्योग बन्द हुने अवस्था आएको थियो । उद्योगले गत २०८१ भदौ महिनाको तेस्रो साताबाट पुनः उत्पादन थाले पनि असोज १५ गतेदेखि मेसिन मर्मतका लागि उद्योग पुनः बन्द गरिएको थियो ।

हाल उद्योगको उत्पादन क्षमता दैनिक १६ हजार बोरा सिमेन्ट रहेको छ । आर्थिक संकटलगायत समस्याका कारण उद्योग निरन्तर संकटमा पर्दै आए पनि यसपटक उद्योगले नियमित उत्पादन गर्ने लक्ष्य लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*