दाङको सांग्रीला प्लाई उद्योगमा भएको आगलागी अझै नियन्त्रण बाहिर

काठमाडौं । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–९ मा रहेको सांग्रिला प्लाई उद्योगमा लागेको आगलागी अझै नियन्त्रण बाहिर रहेको छ । आइतबार राति २ बजेदेखि विद्युत सर्ट भएर लागेको उक्त आगलागी मंगलबार दिउँसो १ बजेसम्म समेत नियन्त्रणमा ल्याउन नसेको दाङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कविराज रोकायाले आइतबार राति लागेको उक्त आगलागी अहिले सम्म पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको बताए ।
ठूलो क्षेत्रफलमा फैलिएको काठ उद्योग भएकाले हालसम्म करिव ९० प्रतिशत नियन्त्रणमा आइसकेको बाँकी रहेको आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरी निरीक्षक रोकायले बीमापोष्टलाई जानकारी दिए ।
‘उद्योगका सञ्चालकहरु अहिले आफै बिचलित भएका छन् । आगलागी नियन्त्रणमा आएपछि अनि बल्ल सोधपुेछ गरेर सबै सामानको विवरण आएपछि मात्र कति क्षति भयो भनेर भन्न सकिन्छ, । अहिले क्षतिको कुनै पनि विवरण आएको छैन ।’ प्रहरी निरीक्षक रोकायले भने ।
प्रहरी तथा स्थानीय प्रशासन मिलेर उद्योग आसपास रहेका स्थानीयहरुलाई सुरक्षित स्थानमा सारीएको छ । आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीहरु खटिएका छन् ।
आगलागी नियन्त्रणको लागि आसपासका जिल्लाबाट कैयौं मात्रामा दमकलहरु प्रयोग गरिएको छ । काठको गोदाम भएकाले आगलागी नियन्त्रण गर्न कठिनाई भएको प्रहरीले जनाएको छ ।
तस्विरः जिल्ला प्रहरी कार्यालय, दाङ
साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति, ३० घर जोखिममा