२५ करोडको नोट काण्डपछि सिल्क ट्रान्सपोर्टका रमेश शेर्पा फरार !

१२ चैत्र २०८१, मंगलवार १२:२८

काठमाडौं । नेपाल प्रहरीले बिशेष अप्रेशन गरेर काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँको विदेशी नोट पक्राउ गरेपछि केरुङ र तातोपानी नाकाबाट सामान आयात गर्दै आएका सिल्क ट्रान्सपोर्टका मालिक रमेश शेर्पा फरार भएका छन् ।
२५ करोड रुपैयाँको अमेरिकी डलर र युरो तथा नेपाली नोट बरामद गर्नु केही दिन अघि मात्रै शेर्पाकै दुई ट्रक भेप ललितपुरको इमाडोलबाट पक्राउ परेको थियो । सो भेप पक्राउ पछि रमेश शेर्पा २५ करोड धरौटी राखेर फुत्किएको बताइएको छ । तर, अहिले बेपत्ता भएका छन् । राजश्व अनुसन्धान विभागसँग जिज्ञाशा राख्न खोज्दा शेर्पाबारे केही बताउन चाहैदन ।  दुई ट्रक भेप पक्राउपछि २५ करोडको काण्ड बाहिर आएको थियो ।

गत चैत्र ५ गते काठमाडौंबाट केरुङतर्फ जाँदै गरेको ना ७ ख १६५२ नम्वरको ट्रकलाई नियन्त्रणमा लिई उक्त ट्रकबाट अमेरिकी डलर, नेपाली रुपैयाँ युरो समेत गरी करिब २५ करोड रुपैयाँको नोट बरामद गरी राजश्व अनुसन्धान विभागमा बुझाएकोमा हाल विभागले थप अनुसन्धान गरिरहेको छ । सो घटनामा पक्राउ परेका चालक कुसाङ लामाले केही खुलाउन चाहेका छैनन् ।

रमेश शेर्पा चीनबाट सामान आयात गर्ने सबैभन्दा ठूला मेस चलाउने व्यक्ति हुन् । उनी सेटिङमा चीनबाट अबैध रुपमा जुत्ता, भेप, सुन लगायतका बस्तुहरु आयात गर्ने मुख्य योजनाकार मानिन्छन् । भारत, नेपाल र चीनमा विश्वासपात्र शेर्पाको अड्डा काठमाडौं मल, सुरज आर्केड, रणमुक्तेश्वर कम्प्लेक्स, महाबौद्धका व्यापारी तथा भाटभटेनीका मालिक मिन बहादुर गुरुङको समेत सामान आयात गर्ने व्यक्ति हुन् । उल्लेखित स्थानका सामानहरु शेर्पाको सिल्क मेसमार्फत आयात हुँदै आएको छ । शेर्पासँगै सिन्धुपाल्चोकका खत्री समुह, राजेन्द्र श्रेष्ठ समुहका विभिन्न मेसहरु सञ्चालन हुँदै आएको छ । राजेन्द्र श्रेष्ठ सिन्धु विकास बैंकका अध्यक्ष समेत हुन् । उक्त २५ करोड विदेशी रुपैयाँमा अन्य मेसवाला पनि जोडिएको आशंका गरिएको छ । यद्यपि छानविन भइसकेको छैन ।

पछिल्लो समय शेर्पा नेपालमा देखिएका छैनन् । केरुङ–तातोपानी नाकामा मेस चलाउनेहरुका अनुसार शेर्पा अहिले भारतमा लुकेर बसिरहेका छन् । यस अवधीमा शेर्पाले भारतमा एक मन्त्रीसँग बिशेष भेटवार्ता गरेर सेटिङ गरेको विश्वस्त सूत्रले जनाएको छ । २५ करोड काण्ड रमेश शेर्पाको भेपसँग कनेक्सन नै नदेखिएको भएपनि नकिजबाट अनुगमन भने भइरहेको छ ।

पछिल्लो समय २५ करोड युरो र डलर चीनतर्फ तस्करी गर्दा गर्दै प्रहरीले पक्राउ गरेको बिषय सुनसँग मात्रै जोडेर आइरहेको छ । भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङले चीनबाट ल्याउने समान अण्डर बिलिङ भएको र सोही अण्डर बिलिङको हिसाब किताब मिलाउन समेत रकम लैजादै गरेको हुनसक्ने मेसका सञ्चालकहरु बताउँछन् । ‘सुनको रकम नेपालबाट त्यसरी गएको थाहा छैन । भेप वा भाटभटेनीकै पैसा हुनसक्छ’, एक मेसका सञ्चालकले बीमापोष्टसँग भने ।
२५ करोड नगद समातिएको पर्सीपल्ट भाटभटेनीको नाममा तातोपानी नाकाबाट काठमाडौं आउँदै गरेको ठूलो मात्रामा भेप पक्राउ गरिएको थियो । सो काण्ड अहिले सत्ता गठबन्धनको दवावमा झिसमिस पार्न खोजिएको छ ।

उता, हाल फरार रहेका रमेश शेर्पा पूर्व प्रधानमन्त्री प्रचण्डको प्रधानमन्त्री कालमा सचिवालयमा रहेर काम गरेका व्यक्तिसँग बिशेष सम्बन्ध रहेको देखिएको छ । त्यस्तै, शेर्पाको सम्बन्धमा नेपाली कांग्रेस पार्टीकी प्रभावशाली एक नेतृसँग पनि रहेको देखिएको छ । यद्यपि रकमको सम्बन्धमा भने कुनै नेताहरुसँग कुनै पनि प्रकारको संलग्नता वा कनेक्सन रहेको भेटिएको छैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*