केपी ओलीले कुलमान हटाउँदा पद र गणतन्त्र दुवै धरापमा, जुरुक्कै उठ्यो देश, भोलिदेखि के होला ?

११ चैत्र २०८१, सोमबार २३:४५

समाचार टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका एमडी कूलमान घिसिङलाई बर्खास्त गरेपछि सिंगो देश स्तब्ध मात्रै मात्रै भएको छैन, प्रधानमन्त्री केपी ओलीको कुर्सी र वर्तमान शासन व्यवस्था नै धरापमा पर्न गएको छ ।

आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले कूलमान घिसिङलाई हटाएर प्रधानमन्त्री ओलीका नातेदार हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णयको विरुद्धमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कडा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आगोमा मट्टीतेल थपेको आरोप लगाएका छन् । त्यसैगरी, सत्ताधारी नेपाली कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्माले पनि सरकारले कूलमानलाई हटाउने निर्णयमा नेपाली कांग्रेसको समर्थन नरहेको भन्दै आलोचना गरेका छन् ।

सत्ताधारी गठबन्धनबाटै कूलमानको बर्खास्तको चर्को आलोचना भएकोले प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिमण्डलको भविष्य भोलिबाटै संकटमा पर्ने देखिएको छ । सत्ताधारी गठबन्धनबाटै सरकारको निर्णयको विरोध हुनुले ओली नेतृत्वको सरकार भोलि नै अन्तिम हुनसक्ने वा केही दिन पर जानसक्ने देखिएको छ ।

यसअघि २०६६ सालमा तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई सेनापति रुक्माङ्गत कटवाललाई हटाउँदा प्रधानमन्त्री पदबाटै राजिनामा दिनुपर्ने अवस्था आएको झै केपी ओलीको प्रधानमन्त्री पद लगभग सकिन लागेको देखिएको छ ।

 

उता, सरकारले कूलमानलाई हटाएको विरोधमा रास्वपाका नेता रवि लामिछानेले मैनबत्ती बालेर कडा स्टाटस लेख्दै अब जनताले अन्तिम निर्णय गर्ने चेतावनीको भाषामा स्टाटस र कुटनीतिक भिडियो पोष्ट गरेका छन् । यसअघि जनतालाई नयाँ क्रान्तिको लागि तयार रहन आह्वान गरेका लामिछानेको आजको संकेत नयाँ क्रान्ति वा सत्ता कब्जा गर्न शान्तिपूर्ण जनविद्रोहतर्फ स्पष्ट संकेत गरेको छ ।

आजै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले समेत ७ दिने अल्टिमेटम दिँदै तन्त्र (शासन व्यवस्था) नै टुकुचामा गाडिदिने धम्की दिनुले वर्तमान शासन व्यवस्था दिनानुदिन कमजोर बन्दै गइरहेको र कुनै पनि कुनै पनि तरिकाबाट अन्त्यको दिशामा अघि बढ्ने स्पष्ट संकेतहरु देखा परिसकेको छ । यही चैत्र १५ गते समाजवादी मोर्चा र राजावादहीहरुले काठमाडौं केन्द्रीत विशाल शक्ति प्रदर्शन गर्दैछन् । राजावादी आन्दोलनका नेता दुर्गा प्रसाईको नेतृत्वमा कोटेश्वरमा आन्दोलन हुँदैछ भने समाजवादी मोर्चाले माइतीघर वा भृकुटीमण्डपमा आन्दोलन गर्दैछन् ।

पछिल्लो समय मुलुकको आर्थिक अवस्था दयनीय अवस्थाबाट गुज्रिरहेको छ । सरकारी ढुकुटी रित्तिएर ऋणमा डुबिरहेको छ भने सांसद र मन्त्री अनि प्रधानमन्त्रीले ऋण लिएर तलब भत्ता खाइरहेका छन् । जनतामा चर्को असन्तुष्टीका बीचमा सरकारले लोडसेडिङ हटाएर जनताको बीचमा लोकप्रिय रहेको कूलमानलाई विद्युत प्राधिकरणबाट हटाउने निर्णयले जनता थप आन्दोलित हुने र शासन व्यवस्था नै तिलाञ्जली दिनुपर्ने अवस्था आउने चर्चा राजनीतिक र कुटनीतिक वृत्तमा चलिरहेको छ ।

भोलिबाट विभिन्न खालका आन्दोलन र प्रदर्शनहरु हुने सम्भावना रहेको देखिन्छ । नायक राजेश हमाल, कलाकार माग्ने बढुा केदार घिमिरेदेखि गायक गायिक र सेलिब्रेटीहरुले सरकारको कदमको विरोध गर्दा सिंगो देश जुरुक्कै उठ्न पुगेको छ । यस्तो अवस्थामा भोलिदेखि मुलुकका थप तरलता उत्पन्न भई थप आन्दोलन उठ्ने खतरा बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*