तीन शीर्ष नेताबीचको गोप्य भेट प्रचण्डद्वारा अस्वीकार !

काठमाडौं । नेपालको राजनीतिमा कहिले काँही अचम्म र फरक दृष्य देखिन्छन् । यतिबेला यस्तै फरक राजनीति गरिरहेका छन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता प्रचण्डसँग भेटवार्ता गर्न खोजिरहेका थिए । तर, प्रचण्ड सिधैं अस्वीकार गर्दै हिडिरहेका थिए । सो क्रममा शान्ति प्रक्रियाका बाँकी कामबारे सत्यनिरुपण तथा मेलमिलापबारे छलफल गर्न तीन शीर्ष नेताहरुबीच आज भेटवार्ता हुने कुरा थियो ।
तर, माओवादी अध्यक्ष प्रचण्डले उक्त बैठक पनि चलाखीपूर्ण तरिकाले टारिदिएका छन् । जसबाट प्रधानमन्त्री ओलीलाई थप अप्ठेरो पर्ने भएको छ । आज बालुवाटारमा तीन दलका शीर्ष नेताहरुसँगै आयोगका अन्य पदाधिकारीहरु पनि सहभागी भएका छन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा गृहमन्त्री रमेश लेखक, एमालेका नेता अग्नि खरेल, नेपाली कांग्रेसका शेर बहादुर देउवा, माओवादीका खिमलाल देवकोटा, शक्ति बस्नेत र अध्यक्ष प्रचण्ड रहेका छन् ।
प्रम ओलीले तीन शीर्ष नेताहरु मात्रै बैठक बस्न चाहेको भएपनि प्रचण्डले चलाखीपूर्वक टिआरसीका अन्य पदाधिकारीहरुलाई समेत सहभागी गराएका छन् । पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्दै जाँदा प्रधानमन्त्री ओली पनि एक्लिँदै गएका छन् ।
उता, आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आजै शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बालुवाटारमा तीन दलको बैठक बस्नु अघि अपरान्ह शितलनिवासमा पुगेर प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई वाम गठबन्धनको नयाँ सरकारको नेतृत्व गर्न आग्रह गरेको भन्दै अनौपचारिक रुपमा बाहिर चर्चा भइरहेको छ भने प्रचण्डले प्रधानमन्त्री बन्न अस्वीकार गरेको बताइन्छ । प्रचण्डले आफू २०८४ मात्रै प्रधानमन्त्री बन्ने भन्दै सरकारका विरुद्धमा कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।