जीवन बीमा कम्पनीको व्यवसाय १०.३३ %ले बढ्यो, बृद्धिदरमा रिलायबल–सिटिजन र नेशनल लाइफ आक्रामक

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा एक खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको सोही अवधिको तुलनामा १०.३३ प्रतिशतले बढेको छ । कम्पनीहरुले गत आवको यस अवधिमा कुल ९८ अर्ब ५३ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
सार्वजनिक विवरण अनुसार नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् भने, व्यवसाय बृद्धिमा रिलायबल नेपाल लाइफ र सिटिजन लाइफबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।
समीक्षा महिनाको अवधिमा नेपाल लाइफले सबैभन्दा बढी रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । कम्पनीले ८ महिनाको अवधिमा २९ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ११.७८ प्रतिशत बढी रहेको छ ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको व्यवसाय १७.८७ प्रतिशतले बद्धि भएर १३ अर्ब ६२ करोड रुपैयाँ र एलआइसी नेपालको ८.४९ प्रतिशतले बढेर १२ अर्ब ५६ करोड रुपैयाँ बीमा आर्जन रहेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण, व्यवसाय बढी गर्ने कम्पनीहरुको आधारमा
साथै, हिमालयन लाइफको व्यवसाय झिनो प्रतिशतले बृद्धि भएर ११ अर्ब २२ करोड रुपैयाँ र सूर्यज्योति लाइफको १७.२९ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन रहेको छ । एशियन लाइफ इन्स्योरेन्सको १०.४६ प्रतिशतले बढेर पाँच अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन रहेको छ ।
व्यवसाय बृद्धिमा आक्रामक देखिएको सिटिजन लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन २०.६६ प्रतिशतले बढेर चार अर्ब ४९ करोड रुपैयाँ रहेको छ । यता, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय चार अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन चार अर्ब २९ करोड रुपैयाँ, मेट लाइफ नेपालको तीन अर्ब ८८ करोड रुपैयाँ, आइएमई लाइफको तीन अर्ब २८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको तीन अर्ब १९ करोड रुपैयाँ र सन नेपाल लाइफको दुई अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन रहेको छ ।
व्यवसाय बृद्धिमा सबैभन्दा अग्रस्थानमा रहेको रिलायबल नेपालको कुल बीमा शुल्क आर्जन २०.६६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको व्यवसाय तीन अर्ब १७ करोड रुपैयाँ रहेको छ ।