निर्जीवन बीमकको व्यवसाय मोटर बीमालेख र बागमती प्रदेशमा सर्वाधिक, के हो कारण ?

काठमाडौं । नेपालमा सञ्चालित १४ निर्जीवन र ४ निर्जीवन लघु बीमा कम्पनीहरुले २८ अर्ब ६० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
चालु आर्थिक वर्षको ८ महिनासम्मको अवधिमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले मोटर बीमाबाट ८ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
सम्पत्ति बीमालेख दास्रो नम्बरमा रहेको छ । कम्पनीहरुले सम्पत्ति बीमाबाट ७ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेका छन् । साथै, कम्पनीहरुले इन्जिनियर तथा ठेक्का जोखा बीमाबाट चार अर्ब ६३ करोड रुपैयाँ र हवाइ बीमाबाट एक अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
सामुन्द्रिक बीमाबाट एक अर्ब ६६ करोड रुपैयाँको बीमा व्यवसाय गरेका कम्पनीहरुले कृषि तथा बाली बीमाबाट एक अर्ब नौ करोड रुपैयाँको व्यवसाय गरेका छन् । साथै, बिविध अन्तर्गत तीन अर्ब १७ करोड रुपैयाँ र लघु बीमाबाट ५९ करोड १० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन भएको छ ।
निर्जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी व्यवसाय बागमती प्रदेशमा गरेका छन् । देशको संघिय राजधानी र मोटर तथा सम्पत्तिको सबैभन्दा बढी व्यवसाय हुने ठाँउ भएकाले बागमती प्रदेशबाट सबैभन्दा बढी व्यवसाय भैइरहेको छ ।
निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशबाट कुल १९ अर्ब २१ करोड रुपैयाँको व्यवसाय गरेको छ । औसतमा यो समग्र व्यवसायको ६० प्रतिशतबढी रहेको छ । साथै, लुम्बिनी प्रदेशबाट दुई अर्ब ५० करोड रुपैयाँ र कोशी प्रदेशबाट दुई अर्ब ४९ अर्ब रुपैयाँको बीमा शुल्क आर्जन भएको छ ।
संघिय राजधानीबाट टाढा रहेको कर्णाली प्रदेशबाट सबैभन्दा कम बीमा शुल्क आर्जन भएको छ । निर्जीवन बीमा कम्पनीहरुले कर्णाली प्रदेशबाट जम्मा २६ करोड ४८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।