डुब्ने अवस्थामा गोर्खाज फाइनान्स, सीइओ नियुक्तिमा राष्ट्र बैंकले चलायो डन्डा

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनमा गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया खारेज भएको छ।
कम्पनीको सञ्चालक समितिले यही चैत १० गते बसेको ५१२औं बैठकमार्फत ज्ञानेन्द्र इवाहाङलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर, सोही दिन बेलुका ४ बजे बसेको ५१३औं बैठकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार इवाहाङको नियुक्ति खारेज गरेको छ। कम्पनी सचिव दीपक न्यौपानेका अनुसार राष्ट्र बैंकको विशेष निरीक्षणका क्रममा देखिएका कैफियतका आधारमा सीईओ नियुक्ति सम्बन्धी सम्पूर्ण निर्णयहरू रद्द गरिएको हो।
यसअघि, कम्पनीले गत पुस १४ गते प्रकाशचन्द्र अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनलाई पुस १८ गतेबाट लागु हुने गरी ४ वर्षका लागि पदमा नियुक्त गर्ने निर्णय भए पनि सञ्चालक समितिको सर्वसम्मत समर्थन नभएकाले अधिकारीले पदभार ग्रहण नगरी राजीनामा दिएका थिए। अधिकारीले पद अस्वीकार गरेपछि कम्पनीको चैत ६ गते बसेको ५१०औं बैठकले उनको नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो।
गोर्खाज फाइनान्सको सीईओ पद गत असोज २२ गतेदेखि रिक्त रहेको छ। तत्कालीन सीईओ सन्तोष घिमिरेले दिएको राजीनामा स्वीकृत भएपछि सञ्चालक समितिले असोज २३ गतेदेखि लागु हुने गरी मुकुन्द श्रेष्ठलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको थियो। तर, सो पदमा नयाँ नियुक्ति गर्ने प्रयास पटक–पटक असफल भइरहेको छ।
कम्पनी सञ्चालक समितिको अध्यक्षमा गौरव बुढाथोकी रहेका छन् भने सञ्चालकहरूमा कल्पना खापुङ, युवराज राई, नरेन्द्रकुमार अग्रवाल र निलम बोहोरा छन्। पछिल्ला घटनाक्रमले गोर्खाज फाइनान्समा नेतृत्व चयन प्रक्रियामा चरम खिचातानी देखिएको स्पष्ट भएको छ।