ग्लोबल मनी वीक: अत्तरियामा लघुवित्त बैंकर्स संघको आयोजनामा वित्तीय सचेतना कार्यक्रम

काठमाडौँ । कैलालीको अत्तरियामा नेपाल लघुवित्त बैंकर्स संघ समन्वय समिति अत्तरियाको आयोजना तथा विभिन्न १२ वटा लघुवित्त संस्थाहरूको सहआयोजनामा ग्लोबल मनी वीक २०२५ कार्यक्रम सम्पन्न भएको छ। गोदावरी नगरपालिका–२ स्थित दुर्गा लक्ष्मी नमुना माविमा आयोजित उक्त कार्यक्रममा कक्षा ११ मा अध्ययनरत करिब ५५ जना विद्यार्थीलाई वित्तीय सचेतना प्रदान गरिएको थियो।
समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई वित्तीय कारोबार, कर्जा, बचत, लगानी तथा वित्तीय योजनाहरूका बारेमा जानकारी दिइयो। साथै, वित्तीय साधनहरूको सदुपयोग र दुरुपयोग गर्दा आउने नाफा-नोक्सानबारे पनि विस्तृत छलफल गरियो।
लघुवित्त समन्वय समिति सचिव तथा सुर्योदय वोमी लघुवित्तका शाखा प्रमुख दीपक महराले कार्यक्रममा बोल्दै अहिलेको युवा पुस्तालाई वित्तीय सक्षमता बढाउने, लघुवित्तको भूमिका बुझाउने तथा नियमन निकायहरूको कार्यक्षेत्रबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले लघुवित्त संस्थाहरूले गर्ने कार्य तथा सामाजिक सचेतनाका विषयमा समेत छलफल गरिएको उल्लेख गरे।
हाल गोदावरी नगरपालिकामा कार्यरत १९ वटा लघुवित्त वित्तीय संस्थामध्ये नेरुडे, मिर्मिरे, नेशनल, निर्धन, आशा, महिला, युनिक नेपाल, स्वरोजगार, हिमालयन, इन्फिनिटी, एनएमबी, नाडेप र सुर्योदय वोमी लघुवित्त संस्थाहरू मात्र कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रम अनौपचारिक भए पनि विद्यार्थीहरूलाई वित्तीय साक्षरताका विषयमा महत्वपूर्ण जानकारी उपलब्ध गराइएको आयोजकहरूले जनाएका छन्।