हुन्डाई क्रेटा ईभी सार्वजनिक हुँदै, उत्कृष्ट बजार पाउने अपेक्षा

काठमाडौं । नेपाली बजारमा छिट्टै हुन्डाई क्रेटा ईभी उपलब्ध हुने तयारी भइरहेको छ। नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ विद्युतीय मोडल भित्र्याउन आवश्यक प्रक्रिया अघि बढाइसकेको छ।
भारतमा सार्वजनिक भइसकेको हुन्डाई क्रेटा ईभीप्रति नेपाली ग्राहकले समेत चासो देखाएका छन्। कम्पनीले नेपालमा विद्युतीय सवारी सहज बनाउन चार्जिङ पूर्वाधार विस्तार गर्ने योजनासहित ‘चार्ज सप’ को अवधारणा अघि सारेको छ। यस अवधारणाअन्तर्गत चार्जिङ स्टेशनसँगै सर्भिस सुविधा उपलब्ध गराइनेछ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माणको कार्य अघि बढाएको छ। महेन्द्र राजमार्गमा तीनवटा, बीपी राजमार्गमा एउटा र सिद्धार्थ राजमार्गमा अर्को चार्ज सप निर्माण गर्न पूर्वाधार विकास भइरहेको छ। यस अन्तर्गत धार्के, चुम्लिङटार, डुम्रे, बीपी राजमार्ग तथा पोखराबाट बुटवल जाने मार्गमा चार्जिङ सुविधा विस्तार गरिँदैछ।
चार्ज सपमा उच्च क्षमताका चार्जिङ उपकरण, सर्भिस वर्कसप, टुल्स तथा स्पेयर पार्ट्स, र वेटिङ लाउन्जजस्ता सेवाहरू उपलब्ध हुनेछन्।
यसैगरी, कम्पनीले देशभर एसी तथा डीसी चार्जिङ स्टेशन विस्तारको योजना अघि बढाएको छ। हाल ४५ स्थानमा सञ्चालनमा रहेका एसी चार्जिङ स्टेसन थप पाँच स्थानमा निर्माण गरिनेछ, जसले कुल संख्या ५० पुग्नेछ।