औद्योगिक क्षेत्रको लोडसेडिङ तत्काल अन्त्य गर्न तीन उद्योग संघको माग

१० चैत्र २०८१, आईतवार १९:०५

काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र धागो उत्पादन संघले औद्योगिक क्षेत्रको लोडसेडिङ तत्काल अन्त्य गर्न माग गरेका छन् । आइतबार काठमाडौँमा आयोजिक एक पत्रकार सम्मेलनमा बोल्दै ती संघका पदाधिकारीहरूले नेपाल विद्युत प्राधिकरणले उद्योगहरूलाई चरम लोडसेडिङको मारमा पारेको आरोप लगाएका हुन्।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष तथा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारुले विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले उद्योगहरुको लोडसेटिङ नभएको भन्दै झुटको खेति गरी रहेको बताए । उनले भने, भने, ‘लोडसेडिङ नहुने घोषणा भएसँगै हामी खुसी थियौं। १–२ महिना सब ठीक चल्यो तर विस्तारै ८–९ घण्टासम्म लोडसेडिङ हुन थाल्यो। जब हामी विद्युत प्राधिकरणमा गुनासो लिएर गयौं, तिनीहरूले हामीलाई राजनीति गर्न आएको भन्दै धम्काउने गरे। यदि लोडसेडिङ छ भने तालिका दिनुप¥यो, हामी हाम्रा उद्योग त्यही अनुसार सञ्चालन गर्छौं। तर कुलमान घिसिङले सार्वजनिक रूपमा लोडसेडिङ नभएको बताइरहेका छन्, जब कि उद्योगहरूमा १०–१२ घण्टा लोडसेडिङ भइरहेको छ।’

‘सार्वजनिक कार्यक्रममै घिसिङले लोडसेडिङ छैन भन्ने गरेका छन् । कुलमान घिसिङको झुटको पराकाष्ठालाई पार गरेको छ ।’ उनले भने । अध्यक्ष मारुले अर्थतन्त्र निकै कमजोर स्थितमा रहेको छ र बिधुत प्राधिकरणले झुटको खेती मात्र गरीरहेको आरोप लगाएका छन् ।

अर्घाखाँची सिमेन्टका पशुपति मुरारकाले लोडसेडिङको बेला बिजुलि प्रयोग गरेका प्रमाण दिएको खण्डमा तत्कालै बक्यौता भुक्तानी गरीदिने बताएका छन् । उनले नेपाल विद्युत प्राधिकरणले लोडसेडिङमा बिजुली प्रयोग गरेको प्रमाण दिनुको सट्टा बर्षौ पछि बिल पठाउने अनि हामिले तिरि दिनु पर्न हो ? भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘हामी तीन महिना उद्योग चलाएर दुई महिना बन्द गर्न सक्छौं, तर दिनभरि भने उद्योग चलाउनु आवश्यक छ । उद्योगहरू देशका लागि दुमन होइनन्, हामी पनि प्रगति चाहन्छौं । लोडसेडिङको समयमा विद्युत प्रयोग भएको छ भने प्रमाण दिनुप¥यो । तर, वर्षौंपछि विद्युत प्राधिकरणले बिल पठाउँछ र हामीले तिरिदिनु पर्ने ? सरकारले गरेको निर्णय समेत विद्युत प्राधिकरणले मानिरहेको छैन ।’

उनले कानुनी प्रक्रिया अनुसार चल्नुपर्नेमा जोड दिए। ‘लालआयोगको प्रतिवेदन कार्यन्वयन गर्न हामि तयार छौ । सरकारले गरेको निर्णय पनि बिधुत प्राधिकरणले मानेन । कानुन भन्दा प्राधिकरण माथि हो ? प्रमाणसहित बक्यौताको बिल दिनुहोस् हामि पैंसा दिन तयार छौ ।’ उनले भने ।

स्टील उत्पादक संघका शोभाकर न्यौपानेले स्टील उद्योगमा लोडसेडिङले पु¥याएको प्रभावबारे चर्चा गरे उनले भने, ‘स्टीलको मूल्य बढेको भनेर उद्योगीहरू आलोचित भइरहेका छन्, तर हामीलाई २४ घण्टामध्ये ८–१० घण्टा मात्र बिजुली प्राप्त भइरहेको छ । उपलब्ध बिजुली समेत कमजोर गुणस्तरको छ ।’

तथ्यमा नगई स्टील उद्योगलाई बजारमा मूल्यवृद्धि गरेको आरोप लागेको उनको भनाए छ । ‘पछिल्लो समय स्टीललाई मूल्यवृद्धि भन्दै चर्चा भइरहेको छ । मूल्य बढाउनुको समेत कारण छ । कच्चा पदार्थको मूल्य ३०–४० डलरले बढेको छ, जसले लागत बढाएको छ। लोडसेडिङकै कारण हाम्रो लगानी खेर गएको छ’ उनले भने ।

सधै उद्योग घाटामा चलाउन नसकिने उनको तर्क छ । उनले भने, ‘हामीले कुनै समय उद्योगहरु घाटामा समेत चलाएका छौं । अब सधै घाटामा चलाउन सकिदैन । प्राधिकरणको कारणले नै ब्यवसाय धरापमा परेको छ ।’

धागो उत्पादक संघका शशिकान्त अग्रवालले लोडसेडिङले उद्योगहरूलाई धरासायी बनाएको बताए। ‘१२ घण्टासम्मको लोडसेडिङ सहनुपरेको छ। यसले आर्थिक विकासमा गम्भीर प्रभाव पारेको छ । विद्युत प्राधिकरणले उद्योगहरूलाई विभेद गरिरहेको छ’ उनले भने ।

सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष ध्रुव थापाले भने बिजुली आउने तालिका नै थाहा नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको तर्क राखे । उनले प्राधिकरणको कारण ब्यवसायीहरुमा चिन्ता थपिएको बताए । उनले भने, ‘१२ घण्टा लोडसेडिङ हुँदा करिब ५० प्रतिशत व्यवसाय खुम्चिएको छ । ब्यवसायीहरु निराश छन् ।’

तीनवटा प्रमुख औद्योगिक संघहरूले संयुक्त रूपमा नेपाल विद्युत प्राधिकरणलाई तत्काल लोडसेडिङ अन्त्य गर्न आग्रह गरेका छन् । लोडसेटिङ छैन भन्दै उद्योगहरुले १२ घण्टा लोडसेटिङको मार परि रहेको बताए । उनीहरूले यदि विद्युत आपूर्ति नियमित गर्न सकिँदैन भने निश्चित तालिका उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

सम्बन्धीत समाचार:

विद्युत प्राधिकरणले लोडसेडिङ छैन भन्दै झुटको खेति गरीरहेको छः अध्यक्ष मारु

बक्यौताको प्रमाण दिनुस्, हामि पैसा दिन तयार छौः पशुपति मुरारका

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*