निर्जीवन बीमा व्यवसाय ७.१२% ले बढ्योः अग्रस्थानमा शिखर, ओरियण्टल र नेपाल इन्स्योरेन्स आक्रामक

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २८ अर्ब दुई करोड ८८ लाख रुपैयाँ रहेको छ ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ७.१२ प्रतिशतले बृद्धि भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ५१ करोड ६७ लाख रुपैयाँको ब्यवसाय गरेका थिए ।
चालु आर्थिक वर्षको ८ महिनामा कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । यता, गत वर्षको तुलनामा नेपाल इन्स्योरेन्स र द ओरियण्टल इन्स्योरेन्सको बीमा ब्यवसाय वृद्धिमा आक्रामक देखिएको छन् ।
सबैभन्दा बढी व्यवसाय गरेको शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ७.९४ प्रतिशतले बृद्धि भएर चार अर्ब एक करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले तीन अर्ब ७१ करोड रुपैयाँको ब्यवसाय गरेको थियो ।
सगरमाथा लुम्बिनी इन्स्यारेन्सको बीमा व्यवसाय ९.२४ प्रतिशतले बृद्धि भएर तीन अर्ब ३२ करोड रुपैयाँ रहेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय ७.५३ प्रतिशतले बढेर दुई अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ३.२० प्रतिशतले बढेर दुई अर्ब ३७ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.८१ प्रतिशतले बढेर दुई अर्ब २१ करोड रुपैयाँ र नेको इन्स्योरेन्सको ३.५७ प्रतिशतले बृद्धि भई दुई अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा एनएलजि इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा १४.७१ प्रतिशतले बढेर एक अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । साथै द ओरियन्टलको ४४.०७ प्रतिशतले बढेर एक अर्ब ७० करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको ०.६२ प्रतिशतले बढेर एक अर्ब ५७ करोड रुपैयाँ व्यवसाय रहेको छ ।
यस अवधिमा तीन निर्जीवन बीमा कम्पनीको बीमा व्यवसाय समान्य अंकले घटेको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय १३.३२ प्रतिशतले घटेर एक अर्ब नौ करोड रुपैयाँमा सीमित बनेको छ ।